अनुभव

एउटा त एक्लै बस्न रूचाउने अनि  साथीहरूसँगै भएपछि आफैले धेरै दुःख पाउने कारणले पुरानो कम्पनी छोडेपछि नेपाली नै नभएको कम्पनीमा आइयो । तर कम्पनीले मलार्इ साथी चाहिन्छ भनेर अरू २ जना नेपाली ल्याइदिए । हाँस्ने कि रूने ।  

नेपालीहरूसँग नजिक भएर व्यवहार गरीसकेपछि चाहिं के हुन्छ भने पैसा मागिहाल्ने । म चाहिं सामान्यतः आर्थिक सरसापटको व्यवहार गर्न नरूचाउने । कसैले पैसा सापट लिइसकेपछि आफ्नो काम सकेपछि सक्दो छिटो फिर्ता गर्नुपर्छ जस्तो लाग्छ । म चाहीं कस्तो छु भने सिधै पैसा सापटी त कसैसँग लिएको नि छैन र लिने पनि छैन । ॠण दिन भनेर त्यत्रा बैंकहरू पर्खेर बसिरहेका छन्, अनावश्यक काममा कसैप्रति कृतज्ञ हुनु मेरो स्वभाव नै होईन । त्यही भएर आफु अलि घमण्डी छु जस्तो पनि लाग्छ । कहिलेकाही महिनाभरिको किनमेल अरु साथीहरुले बढी र आफुले कम गर्दा महिना सकेपछि हिसाब गरेर आफुले दिनुपर्ने हुँदा कहिले दिने होला भन्ने मनमा भैरहने र दिन नपाएसम्म मनमा भारी उचालिराखेको जस्तो गह्रुगो भैरहन्छ । धेरै जसो मान्छेहरु चाहीं कस्तो भने अर्काको पैसा दिनेपर्ने भए पनि नमागेसम्म नदिने । मलाई चाहिं आफैले ॠण दिएको पैसा फिर्ता माग्न पनि साह्रै अप्ठ्यारो  लाग्ने । माग्नुपर्नेले नै नमागिदिएपछि दिनुपर्नेलार्इ क्या हाइसन्चो । एक महिनालाई भनेर लिएको ॠण एक बर्ष सम्म पनि दिन वास्ता नगर्ने । 

 

कोही घर ढलान गर्न, कोही बच्चाको स्कुल फि तिर्न, कोही जग्गा किन्न, कोही अर्कोको ऋण तिर्न, कोही अरुलाइ नै सापटी दिन मसँग सापटी माग्छन् । मसँग पैसा सापटी लिने मध्ये पाँच प्रतिशत जतिले मात्र आफुले भनेकै समयमा सहीसलामत पैसा फिर्ता दिएका छन् । अलि अलि पैसा लिन बाँकी भएकाहरू त धेरै हैन भन्ने सोचेर होला फिर्ता नदिने नै विचार गर्दा रैछन्, धेरैजनासँग थोरै थोरै गरेर आफ्नो त धेरै नै फसेको हुन्छ ।  

 

मान्छेहरु अलिकति पनि अप्ठ्यारो नमानिकन पैसा माग्न कसरी सक्छन् होला जस्तो लाग्छ । उनीहरूले पैसा मागिसकेपछि अप्ठ्यारो त मलाई पो लाग्छ । नदिउँ भने तुरुन्तै सम्बन्ध बिग्रिन्छ, दिउँ भने फिर्ता लिन गाह्रो भएपछि सम्बन्ध बिग्रिन्छ ।    

 

त्यसैले पनि एक्लै बस्नु ठीक लाग्छ । कतिपय के भन्छन् भने आपत विपतमा सरसहयोगको लागि नेपालीसँग बस्नुपर्छ भन्छन् । (त्यो सरसहयोग भनेकै पैसा सापटी लिने भनेको हो कि जस्तो लाग्छ ।) मलार्इ चाहीं के लाग्छ भने मान्छेलार्इ विभिन्न अवस्थामा एक अर्काको सरसहयोग त चाहिन्छ नै तर त्यो सहयोग कुनै विशेष जाती, धर्म, क्षेत्र वा राष्ट्रियताका मान्छेकै चाहिन्छ भन्ने छैन, आफु राम्रो भए आफ्नो निम्ति राम्रा भैदिने मान्छेहरू पृथ्वीमा टन्नै छन् जस्तो लाग्छ । मप्रति राम्रो भैदिएका असल मान्छेहरू पनि थुप्रै भेटेको छु । अनावश्यक काममा कसैप्रति कृतज्ञ हुन नचाहने स्वभाव भए पनि ती मानिसहरूप्रति कृतज्ञ हुनुको विकल्पै हुँदैन, जो म टन्न अघाएको बेलामा खाउ खाउ भनेर कर गर्ने होईन कि म भोकाएको बेलामा मलाई एक छाक खुवाउन पाउँदा आनन्द मान्छन् । 

केही यस्ता असल मान्छेहरु पनि छन्, जसलाइ आवश्यक पर्दा केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने मनमा लाग्छ । उनीहरुलाइ पैसा सापटी चाहियो भने भन्नु है भनेर भन्छु तर उनीहरुको असलपन यति हुन्छ  कि उनीहरु पैसा सापटी लिन नै चाहँदैनन् । 







Comments