कानको दुखाइ
2010-7-1 तारिक विहीवार साँझ मैले अनावश्यक रूपमा कान कोट्याएर ठूलो गल्ती गरेछु भन्ने अहिले लाग्दैछ । त्यससाँझ कान कोट्याउँदा घाउ भएर बायाँ कानबाट रगत आयो । नेपालमा छँदा पनि यस्तो पटक पटक भैरहने र पछि रगत जमेर पाप्रा बस्ने हुनाले मैले यसलाइ खासै ठूलो समस्याको रूपमा लिइंन । तर त्यस रात सुतेर भोलीपल्ट विहान पनि कानबाट रगत आउन रोकिएन । अलि चिन्ता लाग्यो । गर्मी बढेकोले घाउमा पाप्रा नबसेको होला भन्ने अनुमान गरें । काम गर्न गएँ । काम गरिरहँदा कानमा कुनै समस्या छ भन्ने पतै भएन । शुक्रवार फेरी कोठामा आएर सुतें । विहान त कानबाट पानी जस्तो आएर सिरानीमा लागेको रहेछ । त्यसपछि शनिवार दिनभरी काम गरें र कामबाट फर्किएपछि नजिकको औषधी पसलमा गएर आफ्नो समस्या राखें । पसल्नीले ३ दिनको लागि खाने औषधी दिए । उनले मासु र अण्डा नखानु भने, मैले खान छोडिदिएँ । त्यो औषधी खाँदै गएँ। तर समस्या समाधान भएन ।
आइतवारबाट day duty, night duty मा change भयो । मंगलवार विहान कामबाट फर्केर ९ बजेतिर सुतें तर कानको दुखाइले गर्दा ११ बजेबाट निद्रा परेन । कान खराब हुन लाग्यो भन्ने भयो र तुरून्तै मेनेजरकहाँ गएर म अस्पताल जानुपर्यो भनें । उनले ३:३० मा आउन भन्यो । ३:३० मा उनीसँग उइजङबुको एउटा क्लिनिकमा गएँ । त्यहाँको डाक्टरले कान भित्रको रगत सफा गरिदियो । उनले खाने अनि कानमा राख्ने झोल औषधी १ हप्ताको लागि दियो । म ढुक्क थिएँ, अब कान ठीक हुनेछ भनेर । बेलुका काम गर्न गएँ । बुधवार विहान काम सकाएर आएँ कान ठीकै होला भन्ने लाग्यो । सुतें । उठ्दा कान सन्चो भएको जस्तो लागेन । अलि अलि पानी जस्तो अझ आइरह्यो । बुधवार रातिको काम गरेपछि विहीवार विहान सुत्ने जमर्को गर्न लागें तर दुखाइ बढेकोले सुत्न सकिंन । विहीवार रातीको काम गर्न गएँ, मेरो दुखाइ देखेर कुम्ह्वाले भोली नै फेरी अस्पताल गैहाल भनेर सल्लाह दियो र थेन्था मेसिनमा काम गर्ने आजुमालाइ बलामीलाइ सँगै अस्पताल लगिदेउ भने । तर मैले मानिन । मेरो विचारमा डाक्टरको दिएको औषधीले विस्तारै ठीक हुनुपर्छ भन्ने थियो । शुक्रवार विहान कामबाट फर्किएर भान्साघरमा पसेर खाना लिएँ । तर दुखाइले गर्दा खान सकिंन, दाँतले केही चपाउनै नसक्ने भएको थियो । भात मात्रैलाइ झोलसँग नचपाइ निल्ने प्रयास गरें, चपाउन पर्ने तरकारी खान सकिंन । आजुमालाइ मैले कान दुखाइले चपाउन नसकेर यो तरकारी खान सकिंन भनें ।
तर दुइजना आजुमा मध्ये एकजना "खान नसक्नेले किन लिएर गइस् त " भनेर चिच्याइन्, अर्की चाहिं "खानेकुरा फाल्यो भने 2000 won जरिमाना तिर्नुपर्छ, थाहा छ कि छैन " भनेर मलाइ नसिहत दिन थालिन् । एक हिसाबले उनीहरूको कुरा पनि ठीकै हो तर विरामी हुँदा केही सान्त्वना देला भन्ने आश हुने । त्यस्तो खप्की खानुपर्दा मुटुमा साह्रै दुख्ने ।
शुक्रवार बेलुका काम गर्न गएँ तर दुखाइले गर्दा काम गर्न सकिंन र राती १ बजे काम छोडेर फर्किएँ । शनिवार विहान ९ बजे फेर त्यही क्लीनिक गएँ । कोरीयामा प्राय आइतवार र शनिवार छुट्टी हुने गर्छ । म गएको क्लिनि पनि बन्द रहेछ । नजिकैको अर्को क्लिनिकमा गएँ । त्यहाँको डाक्टरले कान हेर्यो तर कानको प्वाल सुन्नीएर डाक्टरको मेसिन नै भित्र छिरेन । उनले औषधी हेर्यो र यो औषधी ठीकै छ भन्यो । आफुलाइ दुखेर जात्रा छ । मैले दुखेपछि मात्र खाने औषधी (pain killer)देउ भने । उनले यसैमा छ भन्यो । कान सुन्निएको हटाउने औषधी पनि दिएन । यही बाँकी औषधी पुरा खाएर आउ भन्यो । म त्यहाँबाट निस्किएँ । अहिलेसम्मको अनुभवमा कोरीयाली अस्पतालहरू मप्रति राम्रो हुन सकेका छैनन् । (प्रतिमहिना स्वास्थ्य विमामा मैले झन्डै 40,000 won तिरीरहेको छु ।)त्यहाँबाट निस्किएर औषधी पसलमा गएँ र कान धेरै दुख्यो भनें,उनले मलाइ pain killer दियो । त्यही लिएर फर्किएँ । त्यही pain killer को मद्दतले दुखाइ सहन सक्ने भएँ ।
सोमवार 12 तारिकमा फेरी पुरानै क्लिनिक गएँ । यो हप्ता day duty परेकोले फेरी काम छोड्नुपर्यो । कान त पुरै बन्द थियो, बाहिरबाट पुरै ढाकिएको, डाक्टरले खाने र राख्ने दुवै औषधी साटिदियो । त्यही औषधी राखेपछि बन्द कान विस्तारै खुल्यो तर कानको भित्र अझै केही अड्किरहे जस्तो अनुभव भैनै रह्यो । कानको श्रवणशक्ति कमजोर थियो । बाया कानले राम्रो सुन्न सकिंन । १ हप्तापछि १९ तारिकमा फेरी क्लिनिक गएँ र कानमा सबै ठीक भयो तर राम्रो सुनिंन भनें, डाक्टरले पछि विस्तारै ठीक हुन्छ भनेर त्यतिकै पठाइदियो । २३ तारिकतिरबाट कान पुरै ठीक भएको हो कि भन्ने अनुभव गरें ।
( यसबीचमा आमा, बुबा, रोजिना काकी, मन्जु काकी, बसन्त, सन्जु र रन्जुसँग कुराकानी भयो तर कसैलाइ पनि मैले कान दुखिरहेको छ भनिंन, मालाइ लागेको चोटले आफन्तलाइ दुख्ला भनेर डर लाग्छ मलाइ । मेरो बानी यस्तै छ, आफु विरामी परेको बेलामा भन्दा पछि निको भैसकेपछि मात्र अरूलाइ भन्ने )
सम्बन्धित केही तस्विरहरू
समस्याको मूल करण, यही सिन्का



Comments
Post a Comment