September 16, 2016

दर्शन, सिद्धान्त र कार्यक्रम

मेरो भन्नु-
सानो छँदा अन्तर्मुखी स्वभावको थिएँ । मान्छेका बोली व्यवहारसँगै मेरा बोली व्यवाहारको तालमेल नमिल्दा म आफुलाई समाजमा घुल्न नसक्ने अजिव प्राणी झैं मान्थें ।
जब मैले मार्क्सवाद बुझ्ने सरल तरिका भन्ने सानो पुस्तिका पढें, त्यतिबेलादेखि मलार्इ लाग्यो कि अजिव म हैन, अजिव त यो समाज रहेछ । म यो समाज अनुकुल बन्ने होइन कि अब यो समाजलाई म अनुकुल बनाउनु पर्ने रहेछ । यही कारण हुनुपर्छ मलाई मार्क्सवादले छिट्टै तानेको । सायद यो २०५४/५५ साल तिरको कुरा हुनुपर्छ । त्यस अघि हिटलर जस्तो अन्धाराष्ट्रवादी म त्यसपछि कम्युनिष्ट बनें । समाजवाद र साम्यवाद सम्बन्धि धेरै धेरै किताबहरू पढ्न थालें । त्यतिबेला हामी स्कुलका केही साथीहरू मिलेर बाल पुस्तकालय खोलेका थियौं । नयाँ नयाँ किताबहरू किन्न साथीहरूबाटै पैसा संकलन गर्थ्यौं । किताब किन्ने जिम्मा मेरो थियो । बाल कथा, कविताका किताबहरूबाट सुरू गरेको हाम्रो पुस्तकालयमा त्यसपछि मेरा रोजाइ अनुसारका मार्क्सवादी किताबहरू थापिन थाले । ती किताबहरू पढेर म निकै रोमाञ्चित हुँदै गैरहेको थिएँ । म आफुलाई कम्युनिष्ट भन्न पाउँदा अति धेरै गर्वको अनुभव गर्न थालेको थिएँ । त्यसमाथि प्रगतिशील कलाकारहरूले गाएका गीतसंगीत सुन्दा झन् उर्जा थपिदिन्थ्यो । 
मैले माओको नयाँ जनवाद, त्यसपछि लागू हुने भनिएको समाजवाद र अन्त्य अनि अवश्यंभावी रूपमा व्याख्या गरिएको साम्यवादबारे धेरै पढें । मलार्इ नयाँ जनवाद र समाजवाद भन्दा पनि साम्यावादमा धेरै रूचि थियो । म आफूलाई साम्यवादी समाजमा रहेको कल्पना गर्थें । यस्तो समाज सक्दो छिटो बनाउनुपर्छ जस्तो लाग्थो । यसको लागि अब यस्तो किताब पढेर, सिद्धान्तहरू लेखेर समय खेर फाल्नु भन्दा पनि सजिलो र छिटो तरिकाले कसरी साम्यवादी समाज बनाउन सकिन्छ भन्ने मनमा लागिरहन्थ्यो । अर्कोतिर साम्यवाद अवश्यंभावी हो भने एक दिन त यो समाज साम्यावादी हुन करै लाग्छ नि हामीले केही गर्दा र नगर्दा के फरक पर्छ र जस्तो लाग्थ्यो । यस्तै तर्क वितर्कले मलाई अन्ततः साम्यवादका अधारहरू के के हुन त ? भन्ने कुराहरूहरूमा डोर्‍यायो । अतः मैले मार्क्सवादका दार्शनिक आधार, ऐतिहासिक र द्वन्दात्मक भौतिकवादको गहिरो अध्ययन गर्ने निष्कर्ष निकालेँ । पढ्दै जाँदा कतिपय स्थानमा मेरा र किताबका तर्कहरू बाझिन थाले । कतिपय ठाउँमा एकदमै महत्वपूर्ण कुरा पढेको झैं लाग्थ्यो । पढ्दा मसँग पेन्सिल हुन्थ्यो । कयौं ठाउँमा अन्डरलाइन गरिन्थ्यो । कतै कुनै कुरा चित्त नबुझेमा किताबकै मार्जिन साइड (अक्षर नभएका खाली ठाउँ) मा मेरा आफ्ना तर्कहरू पेन्सिलले लेख्थेँ । कति ठाउँमा एक पाना मात्र पढ्न पनि घण्टौं समय लाग्थ्यो । किनकी हरेक वाक्यसँग मेरो वादविवादहरू चल्थ्यो । त्यो विवादलाई निष्कर्षमा नपुर्‍याएसम्म दोस्रो वाक्य पढ्न सकिंदैनथ्यो ।
यसरी वैचारीक मन्थनहरू धेरै हुन थालेपछि मैले मेरा असहमति र मेरा आफ्नै तर्कहरूलाई किताबकै खाली भागमा पेन्सिलले लेखेर मात्र नअटाउने भयो । त्यसपछि मैले खेस्रा कागजमा आफ्ना तर्कहरू लेख्न थालेँ । यो लेखाइ २०५६ साल चैत्र १८ बाट शुरू भयो । अन्ततः २०६१ फागुन १५ गते यी लेखहरूलाई एउटा व्यवस्थित रूप दिएँ र दुईचार जनालाई पढन दिएँ । तर कसैबाट पनि मैले सोचेजस्तो सकारात्मक प्रतिक्रिया पार्इंन । म सत्य के हो भनेर जान्न चाहने भएकोले मलाई नकारात्मक प्रतिक्रियाहरूले कुनै दुःख पुर्‍याउँदैन । मात्र यति हो कि मेरा विचारहरू तथ्यहरूद्वारा खण्डन होस् भन्ने चाहन्छु । पढ्न दिएकामध्ये धेरैजनाबाट आएको टिप्पणी के थियो भने क्रिया र प्रतिक्रिया  को नियम कुनै नौलो कुरा होइन, हरेक क्रियाले प्रतिकृया जन्माउँछ वा हरेक प्रतिक्रियाको लागि क्रिया आवश्यक हुन्छ भन्ने कुरा सबैलाई थाहा भएको साधारण कुरा हो । त्यसैले यसमा कुनै आकर्षण भएन । यसमा मेरो भन्नु के हो भने कुरा आकर्षणको हैन, तथ्यको हो । जसलाई हामी साधारण नियम भन्छौँ आखिर संसार त्यही साधारण नियममा आधारित रहेछ । दर्शन बुझ्न गाह्रो छैन । दर्शनलाई पूर्व विद्वानहरूले बुझ्न गाह्रो विषय बनाए, आकर्षक तर जटिल कुराहरू लेखेर । जस्तै द्वन्दवादलाई हरौं । द्वन्दवाद आकर्षक छ । पहिलोपटक द्वन्दवाद पढ्दा के के न नयाँ अनि असाधारण कुरा थाहा पाए झैँ लाग्छ तर द्वन्दवादको क्षेत्र सीमित छ । यो सबै कुरामा लागू हुँदैन, त्यसैले यो सही दर्शन हुन सक्दैन, बरु यो कुनै विषयको सिद्धान्त हुन सक्छ । यहाँ लेखेका दर्शनका कुरामा शंका नभए पनि सिद्धान्त विषयमा लेखेका केही कुरामा अझै केही खोटहरू हुन सक्छन् जस्तो लाग्छ । मेरा विचारहरूमा खोट पत्ता लाग्यो भने झन सत्य कुरा फेला पर्नाले खुशी नै हुनेछु । क्रिया र प्रतिक्रिया को यो विश्व-दृष्टिकोण चलायमान वा भनौं गतिशील (dynamic) छ । त्यसैले यसको सिद्धान्तका विषयमा सही तथ्यहरू थप्नाले वा गलत कुराहरू हटाउनाले दर्शन, सिद्धान्त र कार्यक्रमको यो समग्र विश्व-दृष्टिकोण गलत ठहर्न सक्दैन ।
भर्खरै मात्र पनि केही सम्पादन गरें, केही उदाहरणहरूलार्इ परिमार्जित गरें र इच्छाशक्ति र ′साम्यवाद′बारे नयाँ विषय थपेको छु । इच्छाशक्तिका नियमहरू एउटा सिदधान्त हो तर यसले मान्छेका कार्यक्रमहरू सफल वा असफल हुनुमा भूमिका खेल्ने हुनाले यसलार्इ सिद्धान्तको chapter मा नराखेर कार्यक्रमको chapter मा राखेको छु । अन्त्यमा यसलार्इ पढेर प्रतिकृया दिनुहुनेहरूप्रति कृतज्ञता जनाउँछु । यसमा प्रस्तुत विचारसँग जो कोही पनि सहमत वा असहमत हुन सक्छन्, जुन स्वाभाविक कुरा हो र यसलार्इ सामान्य रूपमा लिनेछु । मुख्य कुरा मैले आफ्ना विचारहरूलार्इ सबैले बुझ्नसक्ने गरी स्पष्टसँग राख्न सकेको रहेछु भने आफूलार्इ सफल मान्नेछु ।

                                                       -निर्मल 





बिषय प्रवेशः
दर्शन, सिद्धान्त र कार्यक्रम एक-अर्कासित अन्तर-सम्बन्धित भैकन पनि यिनीहरू फरक फरक विषयहरू हुन् । विश्व-दृष्टिकोण अध्ययनको अहिलेसम्मको सिलसिलालाई हेर्ने हो भने दर्शन, सिद्धान्त र कार्यक्रमलाई छुट्टाछुट्टै विषयको रूपमा स्पष्ट विभाजन नगरीकन एकैछत्रमा अध्ययन-विश्लेषण गरिएको पाइन्छ । कतिपय ठाउँमा दर्शन र सिद्धान्तलाई र कतिपय ठाउँमा दर्शन र कार्यक्रमलाई एकै विषयको रूपमा व्याख्या गरिएका छन् ।
विशेषतः सैद्धान्तिक वा दार्शनिक प्रवचन र लेखहरूमा दर्शन र सिद्धान्त बीचको भेदलाई नपहिल्याइकन एकैमुष्टमा विश्लेषण गरिएका हुन्छन् । जसले गर्दा हामीलाई प्रकृतिका नियमहरू बुझ्न झन् ठूलो कठिनाई आइपर्छन् ।
त्यसैगरी विशेषतः मार्क्सवादमा आस्था राख्ने राजनैतिक पार्टीहरूले दर्शन र कार्यक्रमलाई गोलमटोल रूपमा प्रस्तुत गर्दै आएको पाइन्छ । मार्क्सवादीहरूले आफ्ना राजनैतिक कार्यक्रमलाई अवश्यंभावी सत्यको रूपमा व्याख्या गर्न रचना गरिएको ऐतिहासिक र द्वन्दात्मक भौतिकवाद ले दर्शन र कार्यक्रमको बिचमा झन् धेरै अन्यौलहरू सृजना गरेको पाइन्छ ।
यहाँ उठान गरिएको क्रिया र प्रतिक्रियाको नियमले दर्शन, सिद्धान्त र कार्यक्रमको भेद र तिनको अन्तर-सम्बन्धलार्इ व्याख्या गर्दै यिनलार्इ हालसम्मकै नविनतम विश्वदृष्टिकोण प्रदान गर्ने जमर्को गरेको छ ।


दर्शन, सिद्धान्त र कार्यक्रम
दर्शनले संसारका सबै कुरालाई साझा नियमको आधारमा व्याख्या गर्छ । दर्शन निरपेक्ष हुन्छ । फरक-फरक वर्ग, जाति, धर्म, लिंग, समुदाय र काल-परिस्थितिको लागि दर्शन फरक हुँदैन । कुनै एकजना मान्छेले आफ्नो जीवनकाल भरिमा संसारका सम्पूर्ण सत्य त थाहा पाउन सक्दैन तर उसले दर्शनको माध्यमबाट संसारको सार भने बुझ्न सक्छ ।
यदि कुनै निश्चित विषयमा विस्तृत रूपमा ज्ञान प्राप्त गर्ने चाहना छ भने त्यसबेला दर्शनले मात्र मद्दत गर्न सक्दैन । त्यसबेला सम्बन्धित बिषयमा लेखिएका सिद्धान्तको आवश्यकता पर्छ । यस्ता सिद्धान्तहरू अनेकौं विषयहरूमा लेख्न सकिन्छ र लेखिंदै जानेछ । संसारमा हालसम्म यस्तै कुराहरूलाई नै दर्शन मनिएको छ, जुन दर्शन होइन सिद्धान्त हो ।
कुनै निश्चित विषयमा मात्र लागू हुने नियमहरूको संग्रह सिद्धान्त हो भने संसारका सबै कुराहरूमा लागू हुने साझा नियम दर्शन हो ।
दर्शन र सिद्धान्त तटस्थ हुन्छन । यिनीहरू आफैमा अग्रगामी वा प्रतिग्रामी हुँदैनन् । यिनीहरू त संसारको सत्य तथ्य उजागर गर्ने उद्देश्यले लेखिएका हुन्छन् । दर्शन र सिद्धान्त लेख्नेहरूको आफ्नो एउटै मात्र उद्देश्य हुन्छ र हुनुपर्छ, त्यो हो संसार सामु सत्य उजागर गर्ने तर दर्शन र सिद्धान्त आफैमा उद्देश्यविहीन तथ्यहरू हुन् ।
कार्यक्रमहरूको उद्देश्य हुन्छन् । कार्यक्रमहरू पक्षपाती हुन्छन् । फरक- फरक वर्ग, जति, धर्म, लिंग, समुदायका फरक-फरक कार्यक्रमहरू हुन सक्छन् र ती कार्यक्रमहरू एक अर्काका विरोधी पनि हुन सक्छन् । किनकी निश्चित उद्देश्य पूरा गर्न कार्यक्रम बनाइन्छ । एउटाको उद्देश्य अर्कोको भन्दा फरक हुन सक्छ । मानिसहरू आफ्नै हिसाबले प्राप्त गरेको दर्शन र सिद्धान्तको मद्दतबाट आफ्नो उद्देश्य पूरा गर्ने योजना बनाई कार्यान्वयन गर्नतिर लाग्छन् । यो नै उसको कार्यक्रम हो ।
दर्शन, सिद्धान्त र कार्यक्रम तीन वटैमा लागू हुने संसारको एउटा साझा नियमलाई क्रिया र प्रतिक्रियाको नियमको रूपमा बुझ्न सकिन्छ । जसको पछाडी चर्चा गरिएको छ ।


१.दर्शन
दर्शन संसारका सबै कुराहरूमा लागू हुने साझा नियम हो । दर्शनको नियमद्वारा बाँधिन नसकिने कुरा केही पनि हुँदैन अर्थात् दर्शन यस्तो नियम हो जसको कुनै अपवाद हुँदैन । दर्शन सबैको निम्ति समान हुन्छ अर्थात दर्शन निरपेक्ष हुन्छ । समाज, प्रकृति, घटना परिवर्तन आदि बुझ्न दर्शन चाहिन्छ । यी सबै कुराहरूलाई साझा नियमद्वारा बुझ्न सक्ने तुल्याउनु दर्शनको काम हो । दर्शनले ब्रह्माण्डमा अस्तित्वमा रहेका सबै कुरालाई साझा नियमको आधारमा व्यक्त गर्छ । दर्शनको मद्दतबाट मानिसहरू जीवन र जगतको अवस्था र यसमा हुने परिवर्तनलार्ई अचम्म नमानीकन विश्लेषण गर्न सक्छन् । यस अर्थमा हाम्रा प्रत्येक प्रश्नको उत्तर प्राविधिक स्तरमा नगइकन तर साझा नियमको आधारमा व्यक्त गर्नु दर्शनको कर्तव्य हुन आउछ अर्थात् चुम्बकले फलाम किन तान्छ भन्ने प्रश्नको उत्तर दर्शनले दिन सक्दैन तर मानिस किन मर्छ भन्ने प्रश्नको उत्तर दर्शनले दिन सक्छ ।

१.१ क्रिया र प्रतिक्रियाको नियम
(Law of Action and Reaction)

संसार परिवर्तनशील छ र यहाँ स्थायी भन्ने कुरा केही पनि छैन । क्रिया र प्रतिक्रियाको प्रक्रियाबाट नै अस्तित्वमा भएका प्रत्येक कुरा परिवर्तन हुन्छन् । क्रिया भएपछि प्रतिक्रिया अवश्यंभावी हुन्छ र प्रतिक्रियाको निम्ति क्रिया अत्यावश्यक हुन्छ । निर्माण हुनुलाई क्रिया मान्ने हो भने नष्ट हुनु प्रतिक्रिया हो । नष्ट हुनुलाई क्रिया मान्ने हो भने एउटा कुरा नष्ट भएर अर्को जुन कुरा वन्छ त्यो प्रतिक्रिया हो । एउटा घटना श्रृंखलामा क्रिया पहिलो घटना र प्रतिक्रिया दोस्रो घटना हो । क्रिया कारण हो, प्रतिक्रिया परिणाम हो । ढुंगामा बाहिरी ताप, चाप पर्नु क्रिया हो, ढुंगा खिइएर माटो बन्नु प्रतिक्रिया हो । फुलभित्र हुने रासायनिक प्रक्रिया र त्यहाँ दिइएको ताप क्रिया हो, फुलबाट चल्ला निस्कनु प्रतिक्रिया हो । मान्छेलाई रिस उठाउने काम, वस्तु क्रिया हो, रिसाएर गरिने काम प्रतिक्रिया हो ।
यो क्रिया प्रतिक्रियाको नियमलाई अझ सूक्ष्म तरिकाले अध्ययन गर्न संसारका सम्पूर्ण कुरालाई चेतनाबाट मुक्त क्षेत्र चेतनाबाट नियन्त्रित क्षेत्र गरी दुई भागमा बाँडिएको छ ।  क्रिया र प्रतिक्रियाको नियम यी दुवै क्षेत्रमा समान रूपमा लागू हुन्छ । यी दुवै क्षेत्रको निम्ति आ-आफ्ना प्रतिनिधि उप-नियमहरू पनि छन् । चेतना मुक्त क्षेत्रको प्रतिनिधित्व गर्ने उप-नियम कुन्तल नियम (Spiral Rule) हो र चेतना नियन्त्रित क्षेत्रको प्रतिनिधित्व गर्ने उप-नियम वातावरण + चेतना = परिवर्तित वातावरण (Situation + Consciouness = Changed Situation) हो ।

(क) चेतनाबाट मुक्त क्षेत्र
(Consciousness Free Field)
यसक्षेत्रमा जीवजन्तु, मानिस, बोटबिरुवा, हावा, पानी, प्रकाश, तापक्रम, चट्टान, माटो, आकाशीय पिण्डहरू (heavenly body),  विद्युत्-चुम्वकीय तरंग (electro-magnetic wave), प्रोटोन, इलेक्ट्रोन आदि कुराहरूलाई चेतनाबाट अप्रभावित वा मुक्त (isolate) गरेर अध्ययन गरिन्छ । यस क्षेत्रमा अध्ययनका केही विषयहरू निम्न हुन् ।

(अ) पारिस्थितिक शास्त्र (Ecology)
वातावरणका जैविक एवं अजैविक वस्तुहरू एक-आपसमा निर्भर रही तथा शक्तिहरूको आदान-प्रदान गरी अस्तित्वमा रहन्छन् ।
(आ) खगोल विज्ञान (Astronomy)
दुई वा सो भन्दा बढी आकाशीय पिण्डहरूमा उत्पन्न हुने गुरुत्व र गुरुत्वकर्षण बलको कारणले ब्रह्माण्डको संरचना तयार भएको हो ।
(इ) भौतिक शास्त्र (Physics)
शक्ति निर्माण र नष्ट हुँदैन, त्यसको रूप मात्र फेरिरहन्छ । सजिवहरू मर्दा, कुहिँदा तथा ढुंगाहरू खिइँदामा तीनका रूपहरू मात्र विनाश हुन्छन् । तर सजिव कुहिएर प्रांगारिक पदार्थको रूपमा, ढुंगा खिइएर माटोको रूपमा शक्ति सधैं अस्तित्वमा रहिरहन्छ ।
(ई) रसायन विज्ञान (Chemistry)
प्रोटोन(+), इलेक्ट्रोन(—) र न्यूट्रन(०) बाट परमाणुको संरचना तयार हुन्छ । परमाणुबाट तत्व (element) र तत्वबाट यौगिक (compound) बन्छ । संसारका सबै भौतिक वस्तुहरू यसरी नै निर्माण भएका हुन् ।
(उ) जीव विज्ञान (Biology)
हावा, पानी, प्रकाश, तापक्रम आदि कुराहरूको उपस्थितिपछि निश्चित अवस्थामा भौतिक वस्तुहरूको संयोजनबाट सजीवता (वनस्पति/जीव) को उत्पत्ति/जन्म हुन्छ । यहीँबाट चेतनाको जन्म हुन्छ । वातावरणले प्राणी एवं चेतनालाई प्रभावित पार्छ ।
(ऊ) भूगोल (Geology)
म्याग्मा चिस्सिएर बनेको चट्टान र चट्टान खिइएर बनेको माटो माटोले पृथ्वीको सतह तयार भएको छ । 

माथिका छ वटा क्षेत्रमा संक्षिप्त सार मात्र निकालिएको छ । यी विषयहरूमा सम्बन्धित क्षेत्रमा विभिन्न सिद्धान्तहरू प्रतिपादित भएका छन् । साथै यी बाहेक चेतना मुक्त क्षेत्रमा अरु पनि धेरै अध्ययनका विषय र त्यसमा लागु हुने आ-आफ्नै सिद्धान्तहरू छन्, जसको अध्ययन् दर्शनको रूपमा नभएर सिद्धान्तको रूपमा हुन्छन् । यहाँ दर्शनका नियमहरू सिद्धान्तमा कसरी लागू भएका हुन्छन् भन्ने बुझ्नको लागि मात्र यी विषयहरू उठान गरिएको हो ।
यी चेतना मुक्त क्षेत्रमा प्रत्येक वस्तु परिवर्तित हुन्छ र विभिन्न चरण पार गर्दै फेरि पहिलेकै अवस्थामा आइपुग्छ । सबै वस्तु नष्ट हुने र पुनः निर्माण हुने प्रक्रिया चलिरहन्छ । सजीवहरूको जीवन-चक्र (पुतली - फुल - लार्भा - प्यूपा - पुतली) र अन्य वस्तुहरूको अस्तित्व-चक्र पनि सधैं निरन्तर रूपमा सञ्चालन हुन्छन् । यो बह्माण्डमा पनि यही नियम लागू हुन्छ । हाम्रो यो पृथ्वी पनि कुनै समय नष्ट हुनेछ र पृथ्वी जस्ता ग्रहहरूको विकास पनि यो ब्रह्माण्डमा निरन्तर भइ नै रहेको हुन्छ ।
हरिया विरुवाले प्रकाश संश्लेषण गरी खाना (फल) तयार गर्छ । बिरुवा वा फलफूल खाएर प्राणी, जनावरहरू बाँच्छन् । यी जनावर मरेपछि कुहिएर माटोमा मिल्छ र त्यसबाट फेरि नयाँ विरुवा उम्रिन्छ । यस्तो प्रक्रिया सधैं चलिरहन्छ ।

प्रकृतिका यी नियमहरू मानिसको चेतनाले नियन्त्रण गर्न नसकिने भएकोले यो चेतना मुक्त क्षेत्रमा परेको हो । यस क्षेत्रका यी नियमलाई छोटकरीमा कुन्तल नियम (Spiral Rule) ले नामाकरण गर्न सकिन्छ । तर यो नियमको विस्तृत रूप अनियमित कुन्तलकृत चक्रिय नियम (Irregular Spiral Cycle Rule) हुन्छ । जसअनुसार चेतना मुक्त क्षेत्रमा घटनाहरूको विकासलाई निम्न अनियमित कुन्तलकृत आकृतिबाट पनि देखाउन सकिन्छ ।



प्रकृतिमा घटनाहरू घट्दा झन्डै चक्रिय (Cycle) रूपबाट घट्छन् । तर ती घटनाहरू पांग्रा घुमे जस्तै एकदमै उही रूपमा दोहोरिँदैन अर्थात् वस्तुहरू नष्ट हुने र पुनः निर्माण हुने प्रक्रिया त सधैं चलिरहन्छ तर पुनः निर्मित वस्तु पहिले नष्ट भएको वस्तुसँग हुवहू मिल्दैन । त्यसैले यो नियम कुन्तल (Spiral) हुन्छ र कुन्तल पनि नियमित नभई अनियमित (Irregular) हुन्छ अर्थात् पहिलेको बाँदरमुखे मानिस विकासको क्रममा अहिलेको अवस्थामा आइपुग्न जति समय लाग्यो त्यति नै समयपछि अहिलेको मानिसको मुखाकृति त्यही अनुपातमा फेरिनुपर्छ भन्ने छैन । त्यो त वरिपरिको वातावरण र मानिसले गरेको विकासले गर्दा मानिसमा पर्ने असर हो । अतः यो पहिलेकै गतिमा नहुन सक्छ । पहिलेको सिंगै कुरा पुनः उही रूपमा कहिले पनि दोहोरिंदैन । त्यसैले यसलाई अनियमित कुन्तलकृत चक्रिय नियम (Irregular Spiral Cycle Rule) को शाब्दिक अर्थ अनुसार बुझ्न उपयुक्त हुन्छ । जसलाई छोटकरीमा कुन्तल नियम मात्र भनौँ । साथै क्रिया र प्रतिक्रियाको मूल नियम पनि यहाँ लागू हुन्छ । जस्तैः- पुतलीको जीवनचक्रमा फुललाई क्रिया मान्दा लार्भा प्रतिक्रिया, लार्भालाई क्रिया मान्दा प्यूपा प्रतिक्रिया, प्यूपालाई क्रिया मान्दा पुतली प्रतिक्रिया र पुतलीलाई क्रिया मान्दा फुल प्रतिक्रिया हुन्छ ।

(ख) चेतनाबाट नियन्त्रित क्षेत्र
(Consciousness controlled Field)
यस क्षेत्रमा ज्ञान, चेतना, धारणा आदिबाट नियन्त्रित विषयहरू जस्तैः- सामाजिक बोलीचाली, व्यवहार, संस्कृति, सामाजिक घटना, राजनैतिक परिवर्तन, व्यक्तिका विचार, अन्तरविरोध आदिबारे अध्ययन गरिन्छ । वातवरणबाट चेतना प्रभावित हुन्छ र चेतनाले वातावरणमा हेरफेर ल्याउँछ भन्ने कुरा नै यो क्षेत्रको महत्वपूर्ण नियम हो । यो नियमलाई वातावरण (पहिलो) + चेतना (दोस्रो) = परिवर्तित वातावरण (तेस्रो) को रूपमा व्यक्त गर्न सकिन्छ ।
पहिलोः- वातावरण भन्नाले प्राकृतिक एवं सामाजिक घटनाहरू तथा वरिपरिको अवस्थालाई बुझाउँछ । वातावरणका सबै पक्षहरू यसमा पर्छन् । जुन कुरा देख्न, सुन्न, स्पर्श गर्न वा अन्य ज्ञान ईन्द्रियहरूबाट अनुभव गरी मस्तिष्कले ज्ञान प्राप्त गर्न सकिन्छ, त्यो नै वातावरण हो ।
दोस्रोः- वातावरणबाट चेतना प्रभावित हुन्छ । त्यसले वातावरणबाट ज्ञान (चेतना) प्राप्त गर्छ । यस चरणमा ज्ञानको आदान-प्रदान, अन्तरक्रिया, वादविवाद, बहस सबै हुन्छ । ज्ञानको आदान-प्रदानबाट यसको फैलावटको काम पनि हुन्छ । अन्त्यमा निष्कर्ष निकाल्ने र योजना बनाई कार्यान्वयन गर्ने काम यसमा पर्छ ।
तेस्रोः- जव योजना कार्यान्वयन गरिन्छ तव परिवर्तित वातावरण तयार हुन्छ । वास्तवमा योजनाको सफलता वा असफलता नै परिवर्तित वातावरण हो ।
चेतना नियन्त्रित क्षेत्रमा आउने परिवर्तनको व्याख्या वातावरण + चेतना = परिवर्तित वातावरण नियमले गर्न सक्छ । यो नियम पनि क्रिया र प्रतिक्रयाको मूल नियममा आधारित हुन्छ । यहाँ वातावरणलाई क्रिया मान्दा चेतना प्रतिक्रिया हुन्छ, चेतनालाई क्रिया मान्दा परिवर्तित वातावरण प्रतिक्रिया हुन्छ ।
अब केही घटनाहरूलाई यही नियम अनुसार व्याख्या गरौं ।

(क) भूमि, कलकारखाना, बीउ, कच्चा पदार्थ आदि वातावरण हुन् । यो वातावरणबाट मानिसले यसमा श्रम गरेर उत्पादन बढाउन सकिन्छ भन्ने चेतना (ज्ञान) प्राप्त गर्छ । यही चेतनाको परिणाम स्वरूप योजनाबद्ध तरिकाले त्यहाँ श्रम हुन्छ । चेतनालाई यसरी कार्यमा परिणत गरेपछि त्यहाँ अन्न र तयारी वस्तुको उत्पादन हुन्छ, जुन परिवर्तित वतावरण हो ।
(ख) रूखबाट स्याउ खस्नु वातावरण हो । आइज्याक न्यूटनले त्यसबाट गुरुत्व बल पत्ता लगाउनु चेतना हो । गुरुत्व बलको आधारमा यन्त्रहरू आविष्कार हुनु परिवर्तित वातवरण हो ।
(ग) समस्या र अप्ठ्याराहरू वातावरण हुन् । त्यसको ज्ञान पाउनु चेतना हो । समस्या हटाउने प्रयास हुनु परिवर्तित वातावरण हो ।






अब केही घटनाहरूलाई यी नियमहरूको आधारमा विश्लेषण गरौं
अ) डढेलो लाग्नु
वनमा कसैले आगो लगाइदिएको हो भने यो घटना उसको योजनाको कार्यान्वयन अर्थात् परिवर्तित वातावरण हो । यदि आगो दुर्घटनावश आफै लागेको हो भने अन्य कामको निम्ति व्यवस्था गरिएको आगो योजना कार्यान्वयनको सिलसिलामा असावधानी वा असक्षमताको कारणले लागेको हुन्छ । वातावरण + चेतना = परिवर्तित वतावरणमा चेतनालाई परिवर्तित वातावरणमा परिणत गर्ने योजना कार्यान्वयनको नोक्सनीपूर्ण असफलता नै आगलागी हो । यदि चट्याङ परेर वा अन्य प्रकृतिक कारणले आगो लागेको हो भने त्यो घटना चेतनाबाट मुक्त क्षेत्रमा पर्छ । विनाश र निर्माणको प्रक्रियामा त्यो वनका भौतिक पर्दाथहरू विनाश भई माटोमा मिल्छ र माटोबाट फेरी रुख विरुवा बन्ने क्रिया कुन्तल नियम अनुसार चलिरहन्छ ।
आ) कुराकानी गर्नु
यो घटना चेतनाद्वारा नियन्त्रित क्षेत्र नियमको चेतना चरणमा पर्छ । कुराकानी गर्नु, ज्ञान पाउनु, संचार गर्नु, प्रशिक्षण दिनु जस्ता कुराहरूले चेतना वृद्धि गर्छ ।
(इ) बाढी आउनु
यसलाई चेतना मुक्त क्षेत्रमा राखेर अध्ययन गर्दा कुन्तल नियम अनुसार जमिन कमजोर हुनु, धेरै वर्षा हुनु, बाढी आउनु, जमिनको स्वरूप बदलिनु र जनधनको विनाश हुनु... जस्ता एकपछि अर्को गर्दै घटदै जाने घटनाहरूले एउटा लामो चक्र पूरा गर्छ र यसमा प्रत्येक दोस्रो घटना पहिलो घटनाको प्रतिक्रिया हुन्छ ।
बाढी आउनुलाई चेतना नियन्त्रित क्षेत्रमा राखेर अध्ययन गर्दा बाढी आउनु, मानिसहरू धरापमा परेको थाहा पाउनु, उद्धार कार्य गर्नुलाई वातावरण + चेतना = परिवर्तित वातावरणको रूपमा व्याख्या गर्न सकिन्छ । यसमा पनि प्रत्येक दोस्रो घटना पहिलो घटनाको प्रतिक्रिया हुन्छ ।
(र्इ) पढ्नु
-पढाइको महत्व बुझ्नु क्रिया, पढनु प्रतिक्रिया ।
-खबर जान्ने जिज्ञासा क्रिया, पत्रिका पढ्नु प्रतिक्रिया ।
-पढ्नु क्रिया, पढेर केही जान्नु/बुझ्नु प्रतिक्रिया ।
-पढ्नु क्रिया, पढेको नबुझ्नु/नबुझिने रहेछ भनेर थाहा पाउनु प्रतिक्रिया ।
-पढ्नु क्रिया, पढेको कुरा चित्त नबुझ्नु प्रतिक्रिया ।
-पढ्नु क्रिया, पढ्दा समय खर्च हुनु प्रतिक्रिया ।
-पढ्नु (किताबको प्रयोग गर्नु) क्रिया, किताब खिइनु/च्यातिनु प्रतिक्रिया ।
चेतना नियन्त्रित क्षेत्रमा पर्ने पढ्ने कामलाई वातावरण + चेतना = परिवर्तित वातावरण उपनियम लगाई अध्ययन गर्न सकिन्छ । जसमा पढाईको आवश्यकता पर्नु वातावरण, पढ्नु चेतना र पढे अनुसारको काम गर्नु परिवर्तित वातावरण वा अन्य दृष्टिकोणबाट पनि हेर्न सकिन्छ ।

(उ) अमेरिकी विश्व-आतंकवाद विरुद्धको लडाईं
घटना श्रृखला-
वातावरणः- २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी हमला ।
चेतनाः- अमेरिकाद्वारा आतंकवाद समाप्त गर्ने दीर्घकालीन योजना तयार गरी विश्व ऐक्यवद्धता बटुल्ने प्रयत्न ।
परिवर्तित वतावरणः- अमेरिकी नैतृत्वको नाटो फौजद्वारा अफगानिस्तान, इराकमा आक्रमण ।

घटनाश्रृखला-
वातावरणः- नाटो आक्रमणबाट त्यसबेलाको अल काइदा संगठन कमजोर ।
चेतनाः- अलकाइदा संगठन कमजोर भएपछि नाटो विरोधी संगठनको रूपमा आइ एस (IS) शाक्तिशाली ।
परिवर्तित वतावरणः- आइ एसद्वारा नाटोमा संलग्न फ्रान्स लगायत देशहरूमा पुनः हमला ।


घटनाहरूको जटिलता
निश्चित घटनाहरूको समूहलाई केही शब्दहरूबाट परिभाषित गर्न सकेमा अध्ययन गर्न अझ बढी सजिलो पर्नेछ ।
घटनाक्रम (Event Order):-
एकपछि अर्को घट्दै जाने घटनाहरूको समूहलाई घटनाक्रम भन्न सकिन्छ । (जस्तैः- सन् २०१५ सालमा क्रमशः घटेका घटनाहरूको समूहलाई घटनाक्रम भन्न सक्छौं । )
घटना श्रृंखला (Event Series):-
एउटा निश्चित नियमभित्र मात्र पर्ने घटनाहरूको समूहलाई घटना श्रृंखला मान्न सकिन्छ । जस्तैः- क्रिया र प्रतिक्रियाको नियममा रहेका दुईवटा घटनाहरूको समूह, वातावरण + चेतना = परिवर्तित वातावरणको नियमभित्र पर्ने तीनवटा घटनाहरूको समूह र कुन्तल नियमभित्र पर्ने असंख्य घटनाहरूको समूह छुट्टा-छुट्टै घटना श्रृंखलाहरू हुन् । कुन्तल नियमभित्र पर्ने घटनाहरूको संख्या फरक-फरक हुन सक्छन् र कुनै श्रृंखलामा त स्पष्टसंग घटना संख्या तोक्न नै गाह्रो पर्न सक्छ । पुतलीको फुल, लार्भा, प्यूपा र पुतली गरी चारवटा मुख्य घटनाहरूको एउटा घटना श्रृखला बन्छ । पृथ्वी जस्ता ग्रह उत्पत्तिको घटना श्रृंखलामा असंख्य घटनाहरू रहेका हुन्छन् ।
घटना संजाल (Event Network):-
एउटै कारणबाट फरक-फरक घटनाहरू घट्न सक्छन् । त्यस्तै फरक-फरक धेरै कारणहरूबाट एउटै मात्र घटना पनि घटना घट्न सक्छ । फ्रान्सेली राज्यक्रान्ति (French Revolution) एउटा घटना हो । यो घटना घटनुका धेरै कारणहरू छन् । त्यस्तै पहिलो विश्वयुद्ध एउटा घटना हो, यो एउटा घटनाको परिणाम स्वरूप विश्वमा धेरै भौतिक क्षति भयो, जर्मनीमा हिटलरको उदय हुनुका साथै धेरै देशमा व्यवस्था परिवर्तन भयो, असंलग्न विचारको उदय र असंलग्न राष्ट्रहरूको संगठन बन्यो । यसरी असंख्य कारण (क्रिया) हरू र त्यसबाट उब्जेको कुनै परिणाम (प्रतिक्रिया)को समूह वा कुनै एउटा कारण (क्रिया) र त्यसबाट बाट प्राप्त भएका असंख्य परिणम (प्रतिक्रियां) हरूको समूहबाट घटना संजाल तयार हुन्छ ।



२. सिद्धान्त
दर्शनले साझा नियमको आधारमा व्यक्त गरेको कुराले मात्र मानिसको ज्ञान प्राप्त गर्ने धोको मेटिंदैन । मानिसले आफ्ना रूचिका कुनै निश्चित क्षेत्र वा विषयमा गहिरो ज्ञान प्राप्त गर्छ । यसरी कुनै निश्चित विषयमा गहिरो ज्ञान दिने काम सिद्धान्तले गर्छ । दर्शनमा उल्लेख भए झैँ ती ज्ञान प्राप्त गर्ने जम्मा दुई क्षेत्रहरू हुन्छन् (१) चेतना मुक्त क्षेत्र र (२) चेतना नियन्त्रित क्षेत्र । प्रत्येक क्षेत्रमा सिद्धान्तका अनगिन्ति विषयहरू हुन्छन् । शक्ति संरक्षणको सिद्धान्त (Law of Conservation of Energy), क्रमविकासको सिद्धान्त (Theory of Evolution), सापेक्षतावादको सिद्धान्त (Theory of Relativity), न्यूटनका चाल सम्बन्धी नियमहरू (Newton's Laws of Motion) आदि चेतना मुक्त क्षेत्रका सिद्धान्तहरू हुन् । यी सिद्धान्तहरू चेतना मुक्त क्षेत्रमा मात्र लागु हुन्छन् । चेतनामुक्त क्षेत्रमा मात्र अध्ययन विश्लेषण गरी सिद्धान्तहरू पत्ता लगाउने व्यक्तिहरूलार्इ हामी वैज्ञानिक भन्छौं ।
अन्तरविरोधका नियमहरू, सामाजिक परिवर्तनका कारक तत्वहरू, भयवाद (Philosophy of fearism), यौनमनोविज्ञान, संदेहवाद (Skeptism), औचित्यवाद (Rationlism), Philosophy of mind, Analytic Philosophy, आदर्शवाद, मानवतावाद, अस्तित्ववाद, स्वरूपवाद (Structuralism ) जस्ता विषयहरू चेतना नियन्त्रित क्षेत्रका सिद्धान्तहरू हुन् । केही सिद्धान्तहरू चेतना नियन्त्रित र चेतना मुक्त दुवै क्षेत्रमा लागु हुन सक्छन् । यस्ता सिद्धान्तहरू अध्ययन, विश्लेषण वा प्रतिपादन गर्नेहरूलार्इ सिद्धान्तका प्रवर्तक, चिन्तक वा दार्शनिक भन्न सक्छौं । गौतम वुद्ध, कन्फ्युसियस, लावत्से (Laozi/ Lao-tzu ), शुक्रात, प्लेटो, अरस्तु ( Aristotle ), मार्क्स, हेगेल, विवेकानन्द, रजनिश आदि यीनै अन्तर्गत पर्ने व्यक्तिहरू हुन् ।
चेतना नियन्त्रित क्षेत्रमा सिद्धान्तहरूको सत्यता परिक्षण गर्नको लागि प्रयोगशालामा प्रयोगहरू गरिन्छन्, गणितिय सुत्रहरूबाट पनि सत्यता जाँचिन्छ । यसका सिद्धान्तहरूको सत्यतामा विवादहरू कम हुन्छन् ।
चेतना नियन्त्रित क्षेत्रमा सिद्धान्तहरूको परिक्षणको निम्ति इतिहास, सामाजिक घटनाहरू, जीवनका व्यतिगत अनुभवहरू र वास्तविक तर्कहरूको सहायता लिइन्छ । यीनै घटना, अनुभवहरूलार्इ मस्तिष्कद्वारा विश्लेषण गरी सिद्धान्तहरू तयार गरिन्छन् । सिद्धान्तहरूको निष्कर्षिकरणमा मस्तिष्कको मुख्य भूमिका हुने तर स्वविवेक र सृजनात्मकताको कारणले गर्दा फरक -फरक मस्तिष्कले फरक –फरक विष्लेशण गर्ने हुनाले यसका सिद्धान्तहरूमा विवादहरू धेरै हुन्छन् ।
चेतना मुक्त र चेतना नियन्त्रित दुवै क्षेत्रमा सिद्धान्तहरू पत्ता लाग्ने र लेखिने काम निरन्तर रूपमा हुन्छ । सिद्धान्तहरूको कुनै सीमितता हुदैन । विश्व दृष्टिकोण लेखिने क्रममा धेरै जसो चेतना नियन्त्रित क्षेत्रका विषयहरूमा सिद्धान्तहरू लेखिन्छन् । यहाँ पनि केही सिद्धान्तहरू प्रस्तुत छन् ।

२.१ चेतनामा स्वविवेक (Self-conscience) र सृजनात्मकता (Creativity)
प्रत्येक मान्छेको चेतना, स्वभाव दोस्रो मान्छेको भन्दा फरक हुन्छ । चेतनाको यस्तो गुणलाई स्वविवेक सृजनात्मकता भनी परिभाषित गरौँ । चेतनामा स्वविवेक सृजनात्मकता हुनु अनिवर्य छ ।
अब चेतनामा स्वविवेक र सृजनात्मकता किन हुन्छ त ?  त्यसबारे केही कुरा गरौं ।
एउटै कारखानाबाट उत्पादित उही जातका दुई वटा कलम लिएर हेर्दा, ठोक्काएर आवाज सुन्दा, आगोमा पोल्दा, स्पर्श गर्दा ती दुवैबाट आउने प्रतिक्रियामा कुनै भिन्नताको अनुभव गर्न सकिंदैन । दुवैको रंग, आकार, काम, गुण आदि समान हुन्छन् ।
अब ती दुईमा भिन्नताको खोजी गरौं । एउटै कारखानाबाट उत्पादित भए पनि एउटा कलम एकछिन अघि र अर्को कलम एकछिनपछि उत्पादन भएको हुनसक्छ । एउटा कलमलाई कामदारहरूले धेरै पटक हातले छोएको र अर्को कलमलाई कम छोएको हुनसक्छ । प्याक/ढुवानी गर्दा एउटा कलम भूईंमा खसेको र अर्को नखसेको  हुनसक्छ । अझ ती कलमहरूको कच्चा पदार्थमा पुगेर विचार गर्ने हो भने निश्चितै रूपबाट ती कलमहरू फरक-फरक अवस्था पार गरेर आइपुगेका हुन्छन् । त्यस हिसाबले हेर्दा संसारमा कुनै पनि त्यस्ता दुईवटा वस्तुहरू छैनन् जसका सम्पूर्ण ऐतिहासिक पृष्ठभूमि एउटै होस् ।
अब चेतना विकासको प्रक्रियालाई हेरौं । (माथि जीवविज्ञान पनि हेरौं ।) विशेष भौतिक वस्तुहरू र वातावरणीय तत्वहरू (हावा, पानी, ताप, प्रकाश, आद्रता आदि)को संयोजनपछिको विशिष्ट अवस्था (विशेष समय) मा चेतनाको विकास हुन्छ । माथि उल्लेख गरिए अनुसार चेतनाको विकास गर्ने विशेष भौतिक पदार्थ तथा वातावरणीय तत्वहरूको ऐतिहासिक पृष्ठभूमि फरक-फरक हुने हुनाले त्यसबाट उत्पन्न हुने चेतना पनि अनिवार्य रूपले एक अर्कोबाट भिन्न हुनुपर्छ अर्थात् चेतनामा स्वविवेक सृजनात्मकता हुनैपर्छ । त्यसमाथि चेतना निर्माणको अवस्था अति नै संवेदनशील हुन्छ । माथि उल्लेख गरेका जस्ता उही जातका दुई कलमहरूमा भएको सानो भिन्नता पनि चेतना निर्माणको चरणमा साह्रै महत्व राख्ने खालको हुन्छ । प्रकृतिमा चेतनाको पहिलो जन्म होस् वा प्राणीको प्रजनन् क्रियाबाट सन्तानको जन्म होस् यी दुवै कुरामा चेतना निर्माण गर्ने भौतिक तत्वको विशिष्ट ऐतिहासिक गुण र चेतना निर्माणको विशिष्ट अवस्था (त्यतिबेलाको वातावरणीय अवस्था ) नै चेतनामा स्थापित हुने स्वविवेक र सृजनात्मकताको कसी हो ।
प्राणीको जन्मपछि विकासको क्रममा उसको वरिपरिको वातावरण, उसलाई गरिएको व्यवहार, उसलाई दिइएको शिक्षाले पनि उसको चेतनामा महत्वपूर्ण असर गर्छ । तर पनि सम्भव भएसम्म जतिसुकै समान वातावरणमा राखे पनि दुई जुम्ल्याहा सन्तानको चेतनामा फरकपन त आइहाल्छ । जुम्ल्याहाहरूमा केही समानता त्यही कारणले आउछ कि उनीहरूको जन्ममा प्रभाव पार्ने वातावरणीय र भौतिक तत्वहरूमा केही समानता हुन्छन् ।
यसरी प्राप्त भएको स्वविवेक र सृजनात्मकताको परिणामस्वरूप अन्तरविरोध (Contradiction) को जन्म हुन्छ । स्वविवेक सृजनात्मकताले गर्दा व्यक्तिहरूको सोचाइमा फरकपन ल्याउँछ नै । यसका साथै ज्ञानको कमीले गर्दा, स्वार्थले गर्दा, पक्षधरताले गर्दा, आफ्नो स्वभावले गर्दा, आफ्नो क्षमताले गर्दा, पूर्वाग्रहले गर्दा पनि एउटै घटनालाई हेर्ने फरक-फरक दृष्टिकोणको जन्म हुन्छ र तिनीहरू बीच अन्तरविरोध देखा पर्छन् ।
व्यक्तिमा हुने स्वविवेक र सृजनात्मकताको अर्थ हरेक व्यक्तिले हरेक विषयमा दोस्रोले भन्दा फरक विचार राख्नुपर्छ भन्ने होइन कि धेरैजसो कुराहरूमा समान धारणा राख्ने दुर्इ व्यक्ति पनि सतप्रतिशत सबै विषयमा समान धारणा राख्न सक्दैन भन्ने हो । अर्थात कुनै न कुनै विषयमा दुर्इ व्यक्तिबीच अन्तरविरोध हुनु अनिवर्य छ ।
अन्तरविरोधहरूमा गौण वा प्रबल रूपमा तर अनिवार्य हुने उदेश्य यो हो कि त्यहाँ आफू जित्न र विरोधीलाई हराउन खोजिन्छ । यो उदेश्य पूरा गर्न वातावरण + चेतना = परिवर्तित वातावरण को नियम अनुसार वातावरण चरणमा हालको अवस्थाको सके जति सम्पूर्ण सत्य, तथ्यहरूको खोजी र संकलन गरिन्छ । विरोधीको पक्षको योजनाहरू पनि हात पर्ने काम हुन्छ । चेतना चरणमा संकलित सत्य, तथ्य र योजनाहरूको विभिन्न कोणबाट अध्ययन र विश्लेषण गरिन्छ । विरोधीको योजना विफल पार्दै आफ्ना योजना सफल पार्न आफ्नो शक्तिशाली योजना तयार पारिन्छ । आफूले तयार पारेको योजना कत्तिको सफल होला ?  कार्यान्वयन गर्न कत्तिको सजिलो वा गाह्रो होला ?  सम्भावित परिणामहरू के-के हुन सक्छन् ?  आफूले कत्तिको मूल्य चुकाउनु पर्ला ? जस्ता कुराहरूको आलोचनात्मक ढंगले विश्लेषण गरिन्छ र योजना कार्यान्वयन गरिन्छ । योजना कार्यान्वयनको सफलता वा असफलता नै परिवर्तित वातावरण हो ।

२.२ तर्कहरूको आधारभूत वर्गीकरण
के नेपाल सानो छ ? भन्ने निबन्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटा लेख्छन् नेपाल भन्दा चीन ठूलो कसैले मलाई भन्यो भने त मान्छे भन्दा हात्ति ठूलो भनेको सुन्दा झैं हाँस्न मन लाग्छ ।
त्यही निबन्धको अर्को ठाउँमा छ विदेश भनेको सपना हो, एउटा कताकताको कथा हो, नदेखेको झिलिमिली हो, अस्पष्ट, अग्राह्य बाहिरी कुरा हो, जो मेरो क्षितिजभित्र पर्दैन, त्यससँग मेरो नजरको के नाता
यो निबन्धको मिठास यति छ कि पढिरहँदा यी तर्कहरू एकदमै साँचा वाक्य झैं लाग्छन् । तर यी तर्कहरू यथार्थ नभएर साहित्यमा प्रयोग भएका कला हुन्, जसले मानिसलाई आकर्षित गर्न सक्छ तर तथ्य दिन सक्दैन ।
तर्कहरूलाई कलात्मक र वास्तविक गरी दुई भागमा बाँड्न सकिन्छ । यी तर्कहरूको फरकलाई बुँदागत रूपमा निम्नानुसार देखाउन सकिन्छ ।


वास्तविक तर्क
कलात्मक तर्क
अदालतमा बढी प्रयोग हुन्छ ।
साहित्यमा बढी प्रयोग हुन्छ ।
सत्य-तथ्य पत्ता लगाउने प्रमुख ध्येय राख्छ ।
आकर्षण गरेर आफ्नो कुराले प्रभाव पर्ने ध्येय राख्छ
उखान, भनाईहरूको प्रयोग साखै गर्दैन । (उखानहरू सापेक्षिक रूपमा मात्र सत्य हुन्छन्)
उखान, भनाईहरूको प्रयोग गरी आफ्नो तर्कमा बल पुर्‍याउन खोज्छ ।
जुन विषयको कुरा गरिन्छ, त्यही विषयको वास्तविक घटना वा इतिहासबाट उदाहरण दिन्छ ।
कुनै विषयको कुरा प्रमाणित गर्न अरु जुनसुकै विषयको उदाहरण दिन सक्छ ।
उदाहरणः ′जीवन′ जन्म र मृत्यु बीचको अवधि हो ।
उदाहरणः ′जीवन′ संर्घष हो, ′जीवन′ एउटा नाटक हो, ′जीवन′ कर्कलाको पानी हो । आदि


कलात्मक तर्कमा यथार्थ होस् वा नहोस् मतलब गरिंदैन तर त्यसमा कला हुनुपर्छ र त्यसले मानिसलाई आकर्षित गर्नुपर्छ । कलात्मक तर्कहरू असाध्यै आकर्षक र मोहक हुन्छन । यी तर्कहरूले जीवन र जगतबारे सिलसिलाबद्ध रूपमा स्पष्ट पार्न सक्दैन तर अनगिन्ति टुक्रा-टाक्री कलात्मक अभिव्यक्तिहरूले मान्छेलाई भुलाईराख्न सम्म सक्छ । 
वास्तविक र कलात्मक तर्कको ज्ञान नभएको वास्तविक तर्कशास्त्री कलात्मक तर्क सुनेपछि रणभुल्लमा पर्छन् । कलात्मक तर्कले वास्तविक तर्कलाई प्रत्यक्ष प्रहार गरेर झार्न त सक्दैन तर अनेकौं फूलबुट्टे, अप्रासंगिक कुराहरूको उदाहरण दिएर मान्छेहरूलाई अलमलमा पर्न सक्छ । कलात्मक तर्कले आफूले प्रचार गर्नुपर्ने पूर्वनिश्चित मान्यताहरूलाई प्रमाण दिन अनेकौं उदाहरणहरूको खोजी गर्छ । ती उदाहरणहरू तथ्य, इतिहास वा काल्पनिक कथाहरू हुन सक्छन । तर ती उदाहरणहरू र प्रस्तुत गर्न लागेको मान्यता बीच समानताको सम्बन्ध हुनु-नहुनुलाई कलात्मक तर्क विचार गर्दैन । तसर्थ ऊ उदाहरण भनेर श्रोता, पाठकको ध्यान आफूतिर तान्छ र ".......यहाँ पनि यही नियम लागू हुन्छ..... " भन्दै आफ्ना मान्यताहरू अगाडि सार्छ ।
कुनै पनि विषयमा कलात्मक तर्क राख्नु सजिलो हुन्छ तर वास्तविक तर्क राख्नु साह्रै गाह्रो हुन्छ । वास्तविक तर्क राख्न वास्तविकताको नजिक जान सक्नुपर्छ, पूर्वाग्रहबाट मुक्त हुनुपर्छ अर्थात् कुनै कुरा प्रमाणित गर्ने होडबाट मुक्त भएर सत्यको नजिक पुग्नुपर्छ वा भनौं सत्य थाहा पाउन साह्रै व्याकुल मान्छे जस्तो अति लचिलो (flexible) हुनुपर्छ, साह्रै मेहनत गर्नुपर्छ । तर प्रायः कलात्मक तर्कहरू पूर्वनिश्चित मान्यताहरू प्रमाणित गर्न दिइन्छ ।
वास्तवमा कलात्मक र वास्तविक तर्कका आ-आफ्नै क्षेत्रहरू छन् । एउटाको क्षेत्रमा अर्कोको महत्व कम हुन्छ । दर्शन, सिद्धान्त र कार्यक्रम जस्ता संसारका आधारभूत सत्यहरूको खोजी गरिने क्षेत्रमा वास्तविक तर्कको प्रयोगले मात्र सही गन्तव्यमा पुर्‍याउँछ । यहाँ कलात्मक तर्कको स्थान हुदैन । कलात्मक तर्क मिठो, रसिलो हुन्छ तर यसले मानिसलाई सत्यबाट टाढा लग्न सक्छ ।
तर कुनै कुरामा, क्षेत्रमा मान्छेको रूचि र आर्कषण बढाउन कलात्मक तर्क उपयोगी हुन्छ । कलात्मक तर्क नभईदिने हो भने कुराकानीमा रस हुदैन । कलात्मक तर्क बिना साहित्य हुँदैन । तसर्थ कलात्मक तर्कबिना जीवन निरस हुन्छ ।
सीधा तर्कलाई गम्भीर ढंगले ग्रहण गर्नुपर्ने बाध्यता वास्तविक तर्कमा हुन्छ । यसमा ठट्टा-मजाक हुँदैन । यसमा न त सुखको न त दुःखको नै अनुभुति हुन्छ । यसमा त मात्र यथार्थता (reality) को कुरा हुन्छ ।
कलात्मक तर्कले सानो सुखद् घटनालाई अति नै (extremely) सुखद् र सानो दुखद् घटनालाई अति नै दुखद् घटनाको रूपमा व्याख्या गर्छ । त्यस्तै आफ्नो व्यक्तिगत दुखद् घटनालार्ई संसर कै दुखद् घटनाको रूपमा प्रचार गर्छ । तर वास्तविक तर्कले यस्ता घटनाको कारण खोजी गर्छ, घटनाको असरलाई यथार्थ रूपमा प्रस्तुत गर्छ, त्यस्तो घटना के भयो भने बारम्बार घट्छ र के भयो भने रोकिन्छ भन्ने कुराको बयान गर्छ ।


२.३ मानवीय चेतनाको क्षमता र भविष्यवाणी
यो ब्रह्मण्डमा मानिसले जान्न बाँकी कुरा धेरै छन् । तर पनि जुन कुरामा मानिसले प्रश्न उठाउन सक्छ, त्यहाँ ढिलो-चाँडो कम्तिमा केही हदसम्मको जवाफ दिन पनि सक्छ । प्रश्न बाँकी भए सम्म जवाफ पनि बाँकी नै हुन्छ । प्रश्नको अस्तित्वले जवाफको अस्तित्वलाई अनिवार्य गराउँछ । संसारमा प्रत्येक दिन नयाँ-नयाँ कुराहरू पत्ता लगाउने क्रम जारी छ ।
चेतना नियन्त्रित क्षेत्रमा एउटा व्यवस्थाको अन्त्यपछि अर्को व्यवस्था आउने, एउटा परिस्थितिलाई अर्को परिस्थितिले विस्थापित गर्ने कारणले जति जान्दै र बुझ्दै गयो, नयाँ कुरा पनि त्यसरी नै देखिँदै आउँछ । त्यसैले सामाजिक जीवनमा इतिहास जानिन्छ, वर्तमान जानिने क्रममा वादविवाद र अन्तरविरोधको घेराभित्र हुन्छ र भविष्य जान्न गाह्रो हुन्छ ।
विज्ञान (चेतना मुक्त क्षेत्र) को सत्य र सम्पूर्ण ज्ञान हुने हो भने यस क्षेत्रमा पूर्वानुमान सजिलो हुन्छ । किनकी यहाँ वातावरण मात्र हुन्छ । यिनीहरू क्रिया र प्रतिक्रियाको नियम अनि कुन्तल नियम को सीमाभित्र रहेर आफैंमा परिवर्तन भइरहन्छ । यस क्षेत्रमा भविष्यमा हुने घटनालाई चेतनाले असर गर्दैन । तसर्थ यहाँ कुनै विषयमा सत्य र सम्पूर्ण ज्ञान प्राप्त गर्न सकियो भने सत्यको धेरै नजिक पुग्ने गरी भविष्य अनुमान गर्न सकिन्छ । सैद्धान्तिक एवं गणितीय प्रमाण भएको ग्रहणको भविष्यवाणी तथा आर्द्रता, हावा, बादलबीच एक अर्काका असरद्वारा अनुमान गर्न सकिने मौसमको पूर्वानुमान आदि यसका उदाहरणहरू हुन् । जमिन भित्रको भार वहन क्षमता, वरिपरिबाट आएको चाप आदिबारे नाप्ने सही प्रविधि नभएको हुनाले भूईंचालोको भविष्य अनुमान गर्ने आधार भेटिंदैन । तर यी चेतनामुक्त क्षेत्र यस्ता क्षेत्र हुन्, जहाँ मानिसको चेतनाले भविष्यको घटनामा प्रभाव पार्न सक्दैन । तर चेतना नियन्त्रित क्षेत्रमा वातावरण अध्ययन गरिसकेपछि चेतनाको बारेमा पनि अध्ययन गर्नुपर्ने हुन्छ । फेरि चेतनामा भएको स्वविवेक र सृजनात्मकताले उत्पन्न गरेको अन्तरविरोधले गर्दा विश्लेषण गर्नु निकै कठिन पर्छ । चेतना नियन्त्रित क्षेत्रमा आफूले समाज बुझेको छैन भन्ने कुरामा कसैलाई विश्वास हुदैन । जतिसुकै कम ज्ञान भएकाले पनि घटनाको आफ्नै हिसाबले व्याख्या गर्छन् । यसरी चेतना नियन्त्रित क्षेत्रमा दुई वा बढी पक्षले दुई वा बढी नै थरीको भविष्यवाणी गर्न सक्छ । अतः भविष्य अनुमानको हिसाबबाट प्रकृतिको क्षेत्र भन्दा सामाजिक क्षेत्र बढी जटिल क्षेत्र हो । त्यसैले त भविष्यमा कुनै समय यो पुथ्वी नष्ट हुनेछ भन्ने कुरा भन्न सक्छौं तर विश्वमा पुँजीवादपछि कस्तो अर्थव्यवस्था आउँछ भनेर भन्न सक्दैनौं ।
वातावरण + चेतना = परिवर्तित वातावरण को नियम अनुसार जतिसुकै राम्रो परिस्थितिको ज्ञान पाएर, जतिसुकै राम्रो योजना बनाए पनि कार्यान्वयन भएर सफल नभएसम्म सफलता र असफलतको दुविधा रहन्छ नै । अझ दुई विरोधी योजनाहरूको उपस्थिति भएको अवस्थामा त झनै बढी दुविधा हुन्छ । तर दुई विरोधी पक्षहरूको अस्तित्व नभएको अवस्थामा भने भविष्य धेरै हदसम्म निश्चित हुन्छ । जस्तै सबै गाउँलेहरूले श्रमदान गरी सडक बनाउने बेलामा सडक नबन्ला कि भन्ने दुविधा कम हुन्छ ।

२.४ घटना किन घट्छ ?
जाडो हुँदा शरीरमा कम्प किन हुन्छ ? यस प्रश्नको उत्तर दिँदा के भन्ने चलन छ भने शरीरलाई ताप प्रदान गरी न्यानो राख्न जाडो हुँदा कम्प हुन्छ । यस खालको उत्तरले घटना किन घट्छ भन्ने प्रश्नको उत्तर नदिई घटना घटेपछि के हुन्छ ? भन्ने प्रश्नको उत्तर दिन्छ अर्थात् यसले घटनाको कारण होइन परिणाम को व्याख्या गर्छ । यस उत्तरको आशय के हो भने जाडो हुँदा शरीरमा कम्प गराउने तत्वहरूले शरीरलाई न्यानो गर्नुपर्‍यो भनेर तिनीहरू कम्पन हुन थाल्छन् । यस्तो उत्तरले चेतना मुक्त क्षेत्रमा चेतनाको सक्रिय उपस्थितिलाई स्वीकार गर्छ, जुन कुनै हालतमा पनि सम्भव छैन । घटना कारणले गर्दा घट्छ, परिणामको लागि घटने होइन । घटना एकपछि अर्को घट्दै जान्छ । पहिलो घटनाको असरले दोस्रो घटना घट्छ न कि तेस्रो घटना घट्नको लागि दोस्रो घटना घट्ने हो । बरु दोस्रो घटनाको असरले तेस्रो घटना घट्छ । शरीरमा ताप प्रदान गर्ने उदेश्यले शरीरमा कम्प हुने होइन, कम्प हुनुभन्दा पहिलो घटनाको असरले कम्प हुने हो । शरिरको कुनै भागमा खराबी देखापर्‍यो भने, प्रतिरक्षाको त्यही प्रणालीसँग सम्बन्धित क्षेत्र उत्प्रेरित हुन्छ र त्यही अनुसारको प्रतिक्रिया देखाउन थाल्छ ।
श्वास फेरेर बाँच्नुपर्छ भन्ने सोचेर कसैले नाकको आविष्कार गरेका हुन भन्ने कुरा आध्यात्मवादी दृष्टिकोणले स्वीकार गर्न सक्छ । तर क्रिया र प्रतिक्रियाको नियममा चेतना मुक्त क्षेत्रमा पर्ने यी घटनाहरू चेतनाले कुनै पनि हिसाबमा असर नगरीकन घटेको हुन्छ । यी प्राविधिक खालका उत्तरहरू सम्बन्धित क्षेत्रका सिद्धान्तमा अध्ययन हुन्छन् । यहाँ दर्शनलाई आधार मानेर सोच्दा यति भन्न सकिन्छ कि नाकको विकास भएपछि मात्र बाँच्न सकिन्छ भनेर कुनै नाक भएको प्राणीले सोचेर नाकको विकास गरेको होइन । बरु नाकको विकास भइसकेपछि मात्र त्यसबाट श्वास फेरेर नाक भएका प्राणीहरू बाँच्न सकेको कुरा चाहिँ साँचो हो ।
भूगोल सम्बन्धी एउटा पाठ्यपुस्तकमा लेखिएको छ उष्ण तृणभूमिको क्षेत्रमा पर्ने साभाना घाँसेभूमि (Savanna grassland) क्षेत्र प्रायः घाँसैघाँसले ढाकिएको छ । धेरै ठूला रूखका निम्ति पानी पर्याप्त नहुने हुनाले घाँसैघाँस मात्र पाइन्छ तर छिटफुट रूपमा रुखहरू पनि हुन्छन् । घाँस तथा रूख दुवैका जराहरू लामा हुन्छन् भने सुख्खा अवस्थाबाट बच्न सक्ने गरी यहाँ केही रूखहरूको फेद फुलेको हुन्छ । यही फुलेको भागमा रुखहरूले पानी जम्मा गर्छ । यो कुराले के देखाउँछ भने वातावरणमा अनुकूल (adjust) हुनको निम्ति चाहिने अंगहरू सजीवमा त्यही वातावरणको प्रभावबाट विकसित हुन्छन् ।
अब चेतना नियन्त्रित क्षेत्रमा हेरौँ । यसक्षेत्रमा भविष्यमा हुनसक्ने कयौँ कुरालाई विचार गरेर योजना बनाई त्यसै अनुसार घटना घटाइने हुनाले यहाँ आफ्नो अनुकूल परिणामको लागि पनि घटना घट्न सक्छ । भविष्यमा कुनै घटना घट्न दिने वा नदिने भन्नेबारे यो क्षेत्रमा गम्भीर बहस, अन्तरक्रिया हुन्छ । घटना घट्न दिनको लागि र  घट्न नदिनको लागि छुट्टा-छुट्टै काम गर्नुपर्छ । तर पनि त्यो घटना किन घट्न दिने वा किन घट्न नदिने भन्ने स्पष्ट कारण पनि यो क्षेत्रमा हुनैपर्छ । कारण बिना कुनै पनि घटना घट्न सक्दैन ।



३. कार्यक्रम
मान्छेका चाहना र आवश्यकताले उसका कार्यक्रमहरू तय गरिदिन्छन् । यस्ता कार्यक्रमहरूलाई कुन रूपमा कार्यान्वयन गर्‍यो भने सफल होइन्छ भन्ने कुराको लागि मानिसले दर्शन र सिद्धान्तको सहयोग लिन्छ । आफूले तय गरेका कार्यक्रमहरू सफल हुने सैद्धान्तिक आधारमा नदेखेमा मान्छेले त्यस्ता कार्यक्रमहरू रद्द गर्न सक्छ । कार्यक्रमहरू व्यक्तिगत, पारिवारिक, सामुदायिक, राष्ट्रिय, राजनीतिक आदि हुन सक्छन् । व्यक्तिगत कार्यक्रममा प्रत्येक व्यक्ति आफ्नो जीवन सुखी र सफल बनाउन चाहन्छन् । पारिवारिक कार्यक्रमको उद्देश्य परिवारको सुख र समृद्धि हो । समुदाय र राष्ट्रको हित हुने कार्यक्रमहरू क्रमशः सामुदायिक र राष्ट्रिय कार्यक्रमहरू हुन् । राजनीतिक कार्यक्रमको दायरा भने राष्ट्रिय कार्यक्रमको दायरा भन्दा ठूलो हुन सक्छ । यसले सिंगै विश्वलाई आफ्नो सोचाइ अनुरूप बनाउने उद्देश्य बोकेको हुनसक्छ ।
कार्यक्रमहरू सफल पनि हुन सक्छ, असफल पनि हुन सक्छ । कार्यक्रम सञ्चालकले आफ्नो शक्ति, सीप, बुद्धि, चलाकी, स्वभाव, धैर्यतालाई कसरी उपयोग गर्छ, त्यसमा कार्यक्रमको सफलता भर पर्छ ।  फरक-फरक कार्यक्रमहरू एक अर्काका विरोधी पनि हुन सक्छन् । त्यस्तो बेलामा कुनै एउटा कार्यक्रमले मात्र सफलता पाउन सक्छ । कुनै प्रतिस्पर्धा वा खेलकुदमा भाग लिने दुई विरोधी पक्षहरूको कार्यक्रममा पनि आफ्नो शक्ति, सीप, बुद्धि र चलाकीलाई विपक्षीले भन्दा राम्रोसँग प्रयोग गर्ने पक्षले सफलता प्राप्त गर्छ ।
कार्यक्रमको सफलताको निम्ति योजना कसरी बनाउने भन्नेबारे वस्तुस्थितिको अध्ययन प्रमुख कुरा हो । राष्ट्रहरूले गुप्तचर अड्डाको स्थापना गर्नु भनेको वस्तुस्थिति बुझ्नको लागि हो । अब एउटै वस्तुस्थितिमा एउटै उद्देश्य प्राप्त गर्न बनेका दुई वा त्यो भन्दा बढी योजनाहरूमध्ये कसले सफलता प्राप्त गर्न सक्छ त भन्ने सवलमा केही विचार गरौँ ।
कुनै वस्तुमाथि लक्ष्य प्राप्त गर्नको लागि सबभन्दा पहिले त्यस वस्तुको वस्तुगत अवस्था थाहा पाउनुपर्छ । त्यसपछि आफ्नो क्षमताको पहिचान गरी योजना तय गरिन्छ । यदि एउटै लक्ष्य प्राप्त गर्न फरक-फरक दुई जना व्यक्तिले फरक-फरक रूपबाट अध्ययन गर्ने हो भने उनीहरूले बनाएका कार्यक्रमहरू पनि फरक-फरक हुनसक्छ । तर यी दुवै कार्यक्रमहरू लक्ष्य प्राप्त गर्न समर्थ हुन पनि सक्छन् । किनभने एउटा समस्या समाधान गर्ने उपाय एउटै मात्र हुनुपर्छ भन्ने छैन । एउटै काम गर्न फरक-फरक योजना बन्नुको कारण के हो भने फरक-फरक व्यक्तिले त्यो वस्तु हेर्दा उनीहरूको स्वविवेक सृजनात्मकताको कारणले गर्दा उनीहरूले त्यो वस्तुको वस्तुगत अवस्था पनि फरक-फरक नै प्राप्त गर्छ । त्यसमाथि फरक-फरक व्यक्तिको काम गर्ने क्षमता पनि फरक-फरक हुन्छ । त्यसैले एउटै कामको निम्ति फरक-फरक तर सही योजना तयार हुन सक्छ । तर सबै उद्देश्य (कार्यक्रम)को निम्ति एक भन्दा धेरै उपाय हुन्छन् भन्ने छैन । कुनै उद्देश्यको लागि त एउटै उपाय पनि फेला पार्न सकिंदैन ।

अब केही राजनैतिक कार्यक्रमका उदाहरणहरू हरौं ।

३.१ प्रजातन्त्रवादीहरूको कार्यक्रम
उनीहरूको कार्यक्रममा कुनै देश वा राज्यलाई कसैको एकाधिकारबाट मुक्त गरिन्छ । देशको  शासनसत्ता जननिर्वाचित प्रतिनिधिहरूद्वारा संचालित हुन्छ । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार व्यवस्थपिका, कार्यपालिका र न्यायपालिका छुट्टा-छुट्टै निकायद्वारा संचालित हुन्छन् । मानिसहरू अरुको अधिकारमा दखल नपर्ने गरी आफ्ना सम्पूर्ण अधिकारहरू उपयोग गर्न पूर्ण रूपमा स्वतन्त्र हुन्छन् ।
३.२ समाजवादीहरूको कार्यक्रम
पूर्ण स्वतन्त्रता दिंदा उत्पन्न भएका पक्षहरू जस्तै, श्रम शोषण, असामानता जस्ता कुराहरूलाई कम गर्न उत्पादनका ठूला-ठूला साधनहरू राज्यले नियन्त्रण गरी अत्यावश्यक सेवाहरू जनतालाई प्रदान गर्ने जस्ता कार्यक्रमहरू यसमा पर्छन् ।
३.३ साम्यवादीहरूको कार्यक्रम
पहिले समाजवाद लागू गर्ने र बिस्तारै-बिस्तारै सम्पूर्ण निजी वस्तुहरूलाई सार्वजनिक वस्तुमा रूपान्तरण गर्दै अन्त्यमा समाजको आवश्यकता व्यक्तिले पूरा गर्ने र व्यक्तिको आवश्यकता समाजबाट प्राप्त गर्ने कार्यक्रम यसमा पर्छ ।


३.४ सफल कार्यक्रमको निम्ति इच्छाशक्ति
के इच्छा गरिएका सबै कुराहरू प्राप्त हुन्छन् त ? पक्कै हुँदैनन् । तै पनि हामी इच्छाशक्तिका कुराहरू बेलाबेला सुन्ने गर्छौं, ताकि यस्तो लाग्छ हाम्रा सबै इच्छाहरू पूरा हुन सम्भव छन् । तर वास्तविकता त्यस्तो हुँदैन । 

चेतना नियन्त्रित क्षेत्रमा लागू हुने नियम हो वातावरण + चेतना = परिवर्तित वातावरण  । हाम्रा योजनाहरू कार्यान्वयन गर्दा सफलता वा असफलता जे हात लाग्छ, त्यो नै परिवर्तित वातावरण हो । चेतना नियन्त्रित क्षेत्रमा मानिसका योजनाहरूलाई सामूहिक र व्यक्तिगत योजनामा विभाजन गरौँ ।
सामूहिक योजनामा सामाजिक विकास, राजनीतिक कार्यक्रमहरू, राजनीतिक पार्टीका चुनाव जस्ता कुराहरू हुनसक्छन् । व्यक्तिगत योजनाको कुरा गर्दा अधिकांश मान्छेका व्यक्तिगत योजनाहरू पढाइ, पैसा, प्रेम र प्रतिष्ठामा केन्द्रित हुन्छन् । योजनाहरू सफल सफल, आंशिक सफल वा असफल हुन सक्छन् ? यसमा कस्ता नियमहरू लागू हुन्छन् ? कस्ता योजना वा कार्यक्रमहरू सफल हुन्छन्, नियमहरू हेरौं ।

क)क्षमतासँग मिल्ने कार्यक्रम
मान्छेपिच्छे फरक फरक क्षमता हुन्छन् । यहाँ पनि मान्छेको स्वविवेक र सृजनात्कताको कुरा आउँछ । अर्थात् प्रत्येक मान्छेको क्षमता दोस्रोको भन्दा फरक हुन्छ । यसर्थ सबै जना सबै ठाउँमा fit हुन सक्दैनन् । पेलेको क्षमता फुटबल खेल्नु हो, उनले गीत गाएर हुँदैन । कुनै एउटा मान्छेले गर्न सक्ने काम अर्को मान्छेले पनि गर्न त सक्छ तर सबैले उही क्षमताले गर्न सक्दैन । क्षमता र योजनाको गलत संयोजनले सफल परिणाम दिँदैन । क्षमता नभएको क्षेत्रमा पनि लामो समय र लगातार मेहनतले केही हदसम्मको सफलता त प्राप्त गर्न सकिन्छ तर प्रतिस्पर्धामा खरो उत्रन सकिंदैन ।

ख) प्राकृतिक रूपले सम्भव योजना
कहिलेकाहीं समाचारहरू आउँछन, spider man को नक्कल गर्दा बालकको मृत्यु । यी साना केटाकेटीको जस्तै कहिलेकाहीं हामी ठूला मानिसहरू पनि कल्पित कुराहरूलार्इ वास्तविकतामा उतार्ने प्रयत्न गर्छौं । जतिसुकै प्रयास गरे पनि फू गरेर रूख ढाल्न सकिंदैन ।
हामीले बनाएका योजनाहरू प्रकृतिको नियमसँग बाझिएमा यस्ता योजनाहरू सफल हुन सक्दैनन् । असम्भव जस्ता लाग्ने केही कुराहरू लामो समयको अभ्यासले सफल भएका उदाहरणहरू पनि देख्न सकिन्छ । तर यसको अर्थ असम्भव कुरा सम्भव भएको होइन, गाह्रो कुरामा सफलता पाइएको मात्र हो । लामो समयसम्मको अभ्यासले सिप विकास भएर गाह्रा, अप्ठ्यारा कुराहरूमा सफलता पाउन सकिन्छ तर प्राकृतिक नियम विपरितका कुनै पनि कुरा सम्भव हुन सक्दैन ।

ग)वातावरण + चेतना = परिवर्तित वातावरण चरणको असिमित समयसीमा (unlimited time frame)
एउटा चाइनिज कथा छ पहाड पन्छाउन खोज्ने बुढाको । पहाड पन्छाउन खोजेकाले सबैले उनलाई मुर्ख बुढा भन्छन् । तर उनको तर्क छ कि, पहाड निरन्तर अग्लो हुदै जाने होइन । कम्तिमा एउटा सानो ढुंगा मात्र हटाइयो भने पनि त्यो ढुंगा बराबरको उचाइ त घट्यो नि पहाडको । पहाड खन्दा खन्दै उ बूढो भएर मरे पनि उनका छोरा, नाति र तीनका पनि छोरा नाति र यसरी नै पुस्तौं पुस्ताले खन्दै गएमा आखिर एक दिन त्यो पहाड हट्ने नै छ । त्यसैले सफलता कहिले पाइन्छ भनेर समय नतोकिकन अन्तहीन प्रयास गर्ने कुरा हो । इच्छाशक्तिसँग अभिन्न रूपले जोडिएर आउने तत्व हो अन्तहीन प्रयास (tireless effort) । जव मान्छे आफ्ना प्रयासहरूबाट थकित हुन्छ भने त्यहाँ इच्छाशक्तिको कमी छ भनेर बुझ्नुपर्छ यस्तो थकानले त्यो इच्छालाई केवल इच्छाकै रूपमा मात्र छोडिदिने गर्छ, शक्ति बिनाको इच्छा । जब मान्छे जतिसुकै प्रयासमा पनि थाक्दैन र त्यही प्रयासमा उ सँधै मरिमेटेर लाग्न सक्छ वा ती प्रयासहरूमै आनन्द लिन सक्छ भने त्यो प्रयास निरन्तर अघि बढ्छ र त्यो नै साँचो अर्थमा इच्छाशक्ति हो, जसले कुनै दिन सफलताको दाबी गर्न सक्छ ।

असफलताको सुरूवात त्यहाँबाट हुन्छ जहाँ हामी विकल्पहरू देख्न थाल्छौं । जहाँ विकल्पहरू हुन्छन, त्यहाँ इच्छाले शक्तिको रूप लिन सक्दैन । किनकी कुनै असजिलो वा अप्ठ्यारो र गाह्रो भयो भने हाम्रो मन दोस्रो विकल्पमा जान्छ । यो नभए त्यो छँदैछ नि भन्ने सोचाइले हाम्रो कार्यक्षमतामा ह्रास ल्याउँछ र सफलतालाई झन टाढा धकेल्छ । जब कुनै कुरा निर्विकल्प बन्छ अर्थात् गर वा मर (do or die) को स्थिति हुन्छ भने त्यहाँ इच्छाशक्तिको पूर्ण प्रयोग देख्न सकिन्छ । कि त गर्ने, नभए मर्ने स्थितिले इच्छाशक्तिको बोध गराउँछ, जहाँ थकान भन्ने कुनै शब्द हुँदैन, म हारें भनेर आत्मसमर्पण गर्ने कुनै गुन्जायस हुँदैन । यही नै हो इच्छाशक्ति ।

Internet मा केही भिडियोहरू छन् people are awesome भन्ने । त्यहाँ देखिएका मानिसहरूको क्षमतामा माथिका तीनवटै नियमहरू लागू  भएका छन् । पहिलो नियमः ती कामहरू सबैका निम्ति सम्भव छैनन् अर्थात् जसको क्षमता छ उसको निम्ति मात्र सम्भव छ, दोस्रोः असंभव जस्तो देखिए पनि ती कामहरू प्राकृतिक रूपले असम्भव छैनन् र तेस्रोः ती कामहरू उनीहरूको लागि पनि तुरून्तै गर्न सम्भव भएका हैनन् । लामो समयको अभ्यास र कयौं असफलताहरू पछि प्राप्त भएका मीठा सफलताहरू हुन् ती ।
जतिसुकै मन अनि मस्तिष्कले चाहेर पनि फू गरेर रूख ढाल्न किन सकिंदैन भने त्यो प्राकृतिक नियम विपरित छ । रूख ढाल्न चाहिने हावाको झोक्का मान्छेको मुखबाट निस्कन सम्भव छैन । यदि कसैसँग इच्छाशक्ति छ भने अहिले उनलार्इ घृणा गर्ने व्यक्तिलाई पछि माया गर्ने व्यक्ति बनाउन सकिन्छ, हो यो सम्भव छ, त्यो इच्छाशक्ति हो । यहाँ बिर्सन नहुने कुरा के हो भने जब हामी हाम्रो मस्तिष्कलाई मनको विरुद्ध विचार गर्ने स्वतन्त्रता दिन्छौ भने अर्थात मनले चाहने तर त्यो चाहनालाई मस्तिष्कले गलत ठहर्‍याउँछ भने त्यहाँ पनि इच्छाशक्तिले आफ्नो शक्ति गुमाउँछ र फगत इच्छा बाँकी रहन्छ, शक्तिबिनाका इच्छाहरू पुरा हुनैपर्ने वाध्यता रहँदैन । मन, वचन र कर्मद्वारा निरन्तर लागिरहन सक्यो भने सफलता सम्भव छ । तर मन, वचन र कर्मले निरन्तर लागिरहन सबै मान्छेको निम्ति सधैं सम्भव नहुन सक्छ ।
मान्छेका सबै इच्छाहरू यस्तै कठिन संघर्ष र इच्छाशक्तिकै माध्यमबाट मात्र पुरा हुने हैनन् । हाम्रा कयौ इच्छाहरू सजिलै पूरा भैराखेका हुन्छन् । आफ्ना निम्ति असम्भव जस्ता देखिएका तर असम्भव नभएका इच्छा पुरा गर्ने सन्दर्भमा मात्र इच्छाशक्तिको कुरा आउने हो ।
अब यस्ता योजनाहरूबारे कुरा गरौं जहाँ दुई विपरित पक्ष हुन्छन, जहाँ एउटाको सफलतामा अर्कोले अफसलता भोग्नै पर्ने हुन्छ । जस्तै चुनाव, टुर्नामेन्ट अदि । यस्ता हरेक क्षेत्रहरूमा क्षेत्रविशेषका आ- आफ्ना विशेषताहरू हुन्छन् । आखिर क्षमता भन्ने कुरा त जहाँ पनि आउँछन् नै । राजनीतिक पार्टीको चुनावको कुरा गर्दा पनि पार्टीहरूले आफ्ना मुद्दाहरूले जनतालाई कत्तिको प्रभाव पार्न सकेको छ भन्ने कुरा नै हुन्छन् । क्षमताको मात्र कुरा पनि सँधै लागू हुँदैन । लिओनेल मेसीमा फुटबल खेल्नसक्ने राम्रो क्षमता हुँदाहुँदै पनि देशको निम्ति मेडल जित्ने सवालमा धेरै पटक असफल भएर सन्यासको घोषणा गर्न पुगे । आफना प्रशंसकहरूले आफूमाथि गरेका आशाहरूले आफूमा उत्पन्न गरेको मानसिक दवावलाई अविचलित भै थेगिराख्न उनलार्इ गाह्रो भयो । tireless effort  देखाउन सकेमा उनी सफल हुने सम्भावना जीवित नै हुन्छ । वातावरण + चेतना = परिवर्तित वातावरण नियमलाई कुनै समयसीमा भित्र नबाँधिकन निरन्तर लागिरहन सक्यो भने कुनै न कुनै दिन टुर्नामेन्ट वा चुनावमा विजय हुन सम्भव छ नै भन्ने हो ।

दर्शन, सिद्धान्त र कार्यक्रम सम्वन्धि अध्ययनको अर्थ बुझ्नु हो । बुझ्नुको अर्थ मात्र बुझ्नु हो, सफलता पाउनु होइन । सफलता पाउन बुझेर मात्र हुँदैन । सफलताका लागि माथीका तीनवटै नियमहरू लागू हुनुपर्छ ।  

इच्छाशक्ति शब्द एउटा यस्तो phenomenon हो जहाँ हाम्रा इच्छाहरू अति कडा भैदिन्छन् र ती इच्छाहरू पूरा गर्न हामीबाट अति मेहनतपूर्ण कामहरू गरिन्छ । थकानरहित रूपमा निरन्तर गरिएका ती मेहतनहरूको असर स्वरूप कालान्तरमा एउटा यस्तो circumstance को निर्माण हुन्छ, जहाँ हाम्रा इच्छाहरू एउटा निश्चित हदसम्म पूरा हुन्छन् । यहाँ इच्छाशक्ति भन्नाले मन र मस्तिष्क (mind and heart) दुवैको उही र उतिकै उग्र इच्छा भन्ने सम्झनुपर्छ । मन वा मस्तिष्क कुनै एउटा मात्रैको इच्छा भनेको फगत इच्छा मात्र हो, त्यसले शक्तिको रूप लिन सक्दैन ।


३.५ साम्यवादको असम्भवता
आफ्नो, समाजको, मानवताको, प्रकृतिको वा यो संसारकै कल्याणको लागि कहिलेकहीं हामी यस्तो भैदिए क्या जाति हुन्थ्यो भनी कल्पना गर्न सक्छौं । आफूमा भएको क्षमता र लगातारको मेहनतले हामी यस्ता योजनाहरू मात्र पूरा गर्न सक्छौं जुन प्राकृतिक रूपले सम्भव हुन्छन् । स्वैर कल्पना (fantasy)हरू पूरा हुँदैनन् । यस्तै स्वैर कल्पनाहरू मध्येको एउटा उदाहरण हो साम्यवाद ।
केही पृष्ठभूमिमा गएर विष्लेषण गरौं । १८ औं शताब्दीबाट शुरू भएको यूरोपको औधोगित क्रान्तिले त्यहाँको समाजमा मजदुर वर्गको उदय गरायो । मजदुरहरूको जीवन कठीन भएर समाजमा अप्ठ्याराहरू आएपछि यस्ता समस्याको समाधनका लागि विभिन्न चिन्तकहरूले विचार गर्न थाले । साँ सीमों(Saint-Simon), चार्ल्स फुरिये(Charles Fourier), रबर्ट ओवेन (Robert Owen) आदी यस्ता चिन्तकहरू हुन् । यी चिन्तकहरूले समाजवादी व्यवस्थाको कल्पना गरे । सहकारीको प्रारम्भिक ढाचाको संस्था Rochdale Society of Equitable Pioneers को स्थापना भयो । तर मजदुरहरूको वास्तविक समस्या समाधान हुन सकेन । पछि कार्ल मार्क्स र फ्रेडरिक ऐंगेल्सले समाजवाद हुँदै साम्यवादसम्म पुग्ने कार्यक्रम बनाए र यसलाइ सैदान्तिक अधार दिन तिहासिक र द्वन्दात्मक भौतिकवादको प्रतिवपादन गरे । साम्यवादसम्म पुग्नको लागि वर्ग संघर्ष, सर्वहारावर्गको अधिनायकत्व जस्ता बाटाहरू रोजिएकाछन् । यहाँनिर वर्गीय संघर्षलार्इ स्वाभाविक तुल्याउनको लागि हेगेलको द्वन्दवादको सहारा लिइएको कुरा बुझ्न गाह्रो छैन । वर्ग संघर्षको परिणामस्वरूप सर्वहारा वर्गको अधिनायकत्वमा समाजवाद हुँदै साम्यवाद स्थापना निश्चित भएको तर्क गरियो ।  
यहाँ उल्लेखनिय कुरा के हो भने ऐतिहासिक र द्वन्दात्मक भौतिकवादी सिद्धान्त प्रतिपादन भएपछि त्यसैको अध्ययनको आधारमा भविष्यमा साम्यवाद अवस्यंभावी रहेको निष्कर्ष निकालिएको होइन । पहिले साम्यवादी आन्दोलनहरू भएपछि त्यसलार्इ सैदान्तिक आधार दिन दर्शनको प्रतिपादन गरिएको हो । रबर्ट ओवन जस्ता अघिल्ला चिन्तकहरूको प्रयासले पनि मजदुर समस्या समाधन हुन नसकेकाले सामाजिक समस्या समाधान गर्ने उनीहरूको आन्दोलनमा सैदान्तिक आधार नभएको विश्लेषण गरियो । त्यसैले आफ्ना आन्दोलानलार्इ सैदान्तिक आधार दिनको निम्ति कार्ल मार्क्सले द्वन्दात्मक भौतिकवादको प्रतिपादन गरिएका हुन् । मार्क्स दार्शनिक भन्दा पहिले राजनितिक अभियन्ता हुन् । उनले द्वन्दात्मक भौतिकवादको सिद्धान्तद्वारा आफ्ना अभियानलार्इ बल दिन खोजेका हुन् ।

मार्क्स र ऐंगेल्सले कल्पना गरेको साम्यवादी समाजमा अहिलेका साधारण मानिस हुने छैनन् । त्यसैले त्यहाँ अपराध हुँदैन, पुलिस हुँदैन, जेल हुँदैन । त्यहाँ मुद्रा हुँदैन किनकी कसैले केही किन्न पर्दैन । व्यक्तिको आवश्यकता समाजले र समाजको आवश्यकता व्यक्तिले पुरा गरिदिन्छन् ।
भ्लादिमिर लेनिनले आफ्नो संकलित रचना ४ (प्रगति प्रकाशन, मस्को)मा राज्यको क्रमिक विलोप भएर साम्यवाद स्थापना कसरी हुन्छ भन्नेवारे स्पष्ट जवाफ दिनको निम्ति अहिले पर्याप्त सामग्री उपलब्ध नरहेको कुरा उल्लेख गरेका छन् । लेनिनको यो कथनबाट पनि साम्यवाद त आखिर कल्पनामै टिकेको छ भन्ने प्रष्ट हुन्छ । मार्क्स, ऐंगेल्स, लेनिन सबैको विचारमा साम्यवादमा अहिलेको साधारण मानिस हुने छैनन् । तर दया, माया, करुणा, लोभ, रिस, इर्ष्या जस्ता संवेदना रहित मान्छे न त भूतमा थियो न त वर्तमानमा छ र न त भविष्यमा हुन सम्भव छ । त्यसैले संवेदना विनाका र समाजको आवश्यकता अनुसार जुनसुकै काम तुरुन्त गर्न सक्ने मानिसको कल्पना भनेको प्राकृतिक रूपले सम्भव छैन । त्यसैगरी साम्यवादलार्इ बल दिन प्रतिपादन गरिएको द्वन्दवादी दर्शन संसारका हर कुरामा लागु हुने विषय होइन । दुर्इ विपरित पक्षहरूको उपस्थिति केही क्षेत्रमा देख्न सकिन्छ तर सबै क्षेत्रमा होइन । त्यसैले द्वन्दवादलार्इ दुर्इ विपरित पक्षहरूको उपस्थिति भएको क्षेत्रमा मात्र लागू हुने सिद्धान्तको रूपमा लिन सकिंन्छ तर हरेक क्षेत्रमा लागू हुने साझा नियम अर्थात पूर्ण दर्शनको रूपमा लिन सकिंदैन । त्यसैले मार्क्सवादी कार्यक्रम कल्पना र दर्शन अपूर्णतामा टुंगिएको छ ।



उपसंहार

संसारलाई बुझ्ने र व्याख्या गर्ने क्रममा अनेकौं दृष्टिकोणहरू प्रतिपादित भएका छन् । केही निम्नानुसार छन् ।
             
(क) अध्यात्मवादी विश्व दृष्टिकोण
यस दृष्टिकोण अनुसार संसार ईश्वरको शक्तिले सञ्चालित छ र संसारमा जे हुन्छ, ईश्वरकै चाहना अनुसार हुन्छ । त्यसैले अध्यात्मवादीहरू ईश्वरले आफ्नो अनुकूल काम गरिदिउन् भन्ने कामना गर्दै ईश्वरको प्रार्थना गर्छन् । संसारको सबभन्दा पुरानो यस दृष्टिकोणको प्रभाव यति विघ्न गहिरो छ कि आजसम्म पनि संसारका अधिकांश मानिसहरू यही दृष्टिकोणमा विश्वास गर्छन् ।

(ख) ऐतिहासिक र द्वन्दात्मक भौतिकवाद
यस दृष्टिकोणले ईश्वरको अस्तित्वलाई स्वीकार गर्दैन । यसले संसार परिवर्तनशील छ भन्ने कुरालाई मान्छ । साथै यसले हरेक परिवर्तनलाई दुई विपरित पक्षहरूको द्वन्दको उपजको रूपमा व्याख्या गर्छ ।

(ग) क्रिया र प्रतिक्रियाको नियम
यो पूर्ण भौतिकवादी दृष्टिकोण हो, ईश्वरको अस्तित्व स्वीकार गर्दैन । प्रत्येक क्रियाको प्रतिक्रिया हुन्छ, प्रत्येक परिणामको कारण हुन्छ भन्ने मुख्य मान्यतामा यो दृष्टिकोण टिकेको छ ।

एउटा विश्व दृष्टिकोणको अस्तित्व हुँदै-हुँदै दोस्रो विश्व-दृष्टिकोणको प्रतिपादन त्यतिबेला हुन्छ, जतिबेला पहिलो अमान्य वा अपूर्ण महसूस हुन्छ । त्यसैले एउटा र अर्को दृष्टिकोण बीच अन्तरविरोध हुने नै गर्छ । तर कतिपय कुरालाई भने सबै दृष्टिकोणले स्वीकार गरेको दखिन्छ । संसार परिवर्तनशील छ भन्ने कुरालाई माथिका तीनवटै दृष्टिकोणले स्वीकार गर्छ । तर अन्तरविरोध यहाँनिर छ कि अध्यात्मवादले ईश्वरको चाहना अनुसार संसार परिवर्तन हुन्छ भन्छ । ऐतिहासिक र द्वन्दात्मक भौतिकवादले दुई विपरित पक्षहरू बीचको अन्तरद्वन्दको परिणाम स्वरूप संसार परिवर्तन हुन्छ भन्छ । क्रिया र प्रतिक्रियाको नियमले कुन्तल नियम वा वातावरण + चेतना = परिवर्तित वातावरणको नियम अनुसार संसार परिवर्तन हुन्छ भन्ने कुरा स्वीकार गर्छ । अध्यात्मवादले ईश्वरविनाको संसार कल्पना सम्म गर्न सक्दैन तर ऐतिहासिक र द्वन्दात्मक भौतिकवाद तथा क्रिया र प्रतिक्रियाको नियमले ईश्वरको अस्तित्व नै स्वीकार गर्न सक्दैन । फेरि दुई विपरित पक्षहरूको अन्तरद्वन्दलाई ऐतिहासिक र द्वन्दात्मक भौतिकवादले जोड दिन्छ भने क्रिया र प्रतिक्रियाको नियमले संसार व्याख्या गर्न यस्ता दुई विरोधी पक्षहरूको आवश्यकता देख्दैन र केही सिमित क्षेत्रमा बाहेक सबै ठाउँमा दुई विरोधी पक्षहरूको अस्तित्व देख्दैन ।

दर्शनको रूपमा प्रतिपादन गरिएका सिद्धान्तहरूले संसारका सबै कुराहरूलार्इ प्रतिनिधित्व गर्न सक्दैन भने त्यसलार्इ पूर्ण दर्शन मान्न सकिंदैन, सम्बन्धित क्षेत्रको सिद्धान्त मात्र मान्न सकिन्छ । क्रिया र प्रतिक्रियाको निमय एउटा यस्तो सिद्धान्त हो जुन संसारका हर कुरामा लागु हुन्छ । क्रिया र प्रतिक्रियाको नियमद्वारा परिवर्तन नहुने कुनै कुरा संसारमा अस्तित्वमा छैन । यो सबै कुरामा लागू हुने साझा नियम हो । त्यसैले क्रिया र प्रतिक्रियाको नियमले आफूलार्इ पूर्ण दर्शन दावी गर्न सक्छ । 









यहाँ फेसबुकबाट प्रतिक्रिया लेख्नुहोस्ः

2 comments :

  1. माथि एक ठाउँमा उल्लेख गरिएको छ…
    "कि त गर्ने, नभए मर्ने स्थितिले इच्छाशक्तिको बोध गराउँछ, जहाँ थकान भन्ने कुनै शब्द हुँदैन, म हारें भनेर आत्मसमर्पण गर्ने कुनै गुन्जायस हुँदैन । यही नै हो इच्छाशक्ति ।"
    माथिको भनार्इलार्इ अझै प्रष्ट्याउन इच्छाशक्तिको उदाहरण त no arms no legs वाला Nick Vick नै पनि हुन् अथवा म जे पनि गर्न सक्छु भन्दै तातो आगोमा हिँड्ने विकासानन्दका चेलाहरु नै पनि हुन सक्छन् ।
    विकासानन्दलाइ यो के जात्रा देखाएको भनि सोधिएको प्रश्नमा यसै भनेका थिए –अवचेतन मनलाइ जगाउने कुराले मानिसलाइ जे पनि गर्न सक्छु भन्ने भावना पैदा गर्छ । हाम्रो चेतनाले पो आगोले पोल्छ भन्ने थाहा छ, तर जब mind लाइ hypnotize गरिन्छ, त्यो अवचेतन अवस्थामा पुग्छ र जे पनि गर्न सकिन्छ, आगोले पोल्दैन भन्दै ऊ आगोमा हिँड्न थाल्छ । मानिस आफ्नो मस्तिष्कको २,३ प्रतिशतमात्र क्षमताको प्रयोग गरिरहेको हुन्छ । अल्बर्ट आइन्स्टाइनले आफ्नो मस्तिष्कको १० प्रतिशत क्षमताको प्रयोग गरेका थिए रे जीवनभरीमा ।

    ReplyDelete
    Replies
    1. इच्छाशक्तिको उदाहरण दिनुपर्दा विश्वभरी Nick Vujicic को भिडियो देखाइन्छ यो कुरा सही हो । मैले पनि यो भिडियो धेरै पहिले हेरेको हो र प्रेरित भएको पनि हो । पहाड पन्छाउने मुर्ख बुढाको चाइनिज कथा चाही Nick Vujicic को भिडियो अउनुभन्दा धेरै अघिदेखि इच्छाशक्तिको उदाहरण दिनुपर्दा विश्वभरी खुब प्रचलित थियो । पहाड पन्छाउने बुढा अख्यानको पात्र हुन भने Nick Vujicic चाही real पात्र हुन् । Nick Vujicic जस्तै अरू पनि धेरै उदाहरणहरू छन संसारमा ।

      आगोमा हिंड्नु चाहिं आत्मबलको कुरा भयो । आत्मबल भन्नाले पिडा सहने शक्ति । यहाँ उठान गरेको इच्छाशक्ति भनेको मानिसले आफ्नो जीवन बाँच्ने क्रममा आफ्ना योजनाहरू लागु गर्दा आइपरेका कठीनाइहरू पार गरेर कसरी सफल जीवन विताउने भन्ने कुरासँग सम्बन्धित छ । अचेतन मनको सिद्धान्तबारे सिग्मन्ड फ्रायडले किताब लेखेका छन् ।
      एउटै कुरालाइ कुनै मानिसले अति दुखद रूपमा लियो भने उसलार्इ त्यसले सार्है दुखी बनाउँछ तर त्यही कुरालार्इ अर्को मानिसले हल्का ढंगले लियो भने उसलार्इ त्यसले त्यस्तो दुखी बनाउँदैन । यो मानिसको स्वभावजन्य कुरा हो । कुनै मृत्युजन्य रोग लागेको मानिस रोगको कारण दुखी र निरास भयो भने उसका शरिरका कोषहरू त्यही अनुसार कमजोर हुन्छ र उ चाँडै मर्छ तर त्यही रोग लागेको अर्को मानिस आफूलार्इ मृत्यजन्य रोग लागेको बारेमा थाहै नभएर कुनै दिन विसेक हुन्छु भन्ने सोच्छ वा मर्नै परे पनि जतिसमय बाँचिन्छ खुशीसाथ बाँच्ने निर्णय गर्छ र दुखी हुँदैन, चिन्ता गर्दैन भने उसका शरिरका कोषहरू त्यति छिटो कमजोर हुँदैन र उ अलि धेरै बाँच्छ । यो आत्मबलको कुरा भयो । आत्मबलले शरिरलार्इ पनि बल दिन्छ । सहन सक्ने, थेग्न सक्ने बनाउँछ । तर आत्मबलको कारणले मृत्यजन्य रोग लागेको मानिस मर्दै नमर्ने र आगोमा हिड्ने त्यस्ता मान्छेहरूलार्इ आगोले पोल्दै नपोल्ने होइन । त्यसैले त आगोमा हिंड्नेहरू तातो फलाममा होइन कि खरानी युक्त कोइलाको आगोमा हिड्छन् र लोसे पाराले होइन छिटो छिटो हिंड्छन् । हामी पनि कहिलेकाही कुनै कुरा कति तातो छ भनेर हातैले जाँच गर्न पर्यो भने औंलाले एकदमै छिटो छोएर औंला निकालिहाल्छौं नि, त्यस्तै ।

      Delete